शनिबार, चैत्र ११, २०७९

बर्षात नहुँदा बझाङबासीलाई भोकमरीको चिन्ता

बझाङ । समयमै वर्षा नहँुदा किसानहरुले लगाएको गहुँ बाली सुक्न थालेपछि बझाङका किसानहरु यस वर्ष भोकमरी हुने हो कि भन्ने चिन्तामा छन् । बझाङमा अहिलेसम्म बर्षात भएको छैन जसका कारण अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताए ।

छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छराँैला सोचेको भए पनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भए पनि गहुँ सुक्दै गएको जानकारी दिए ।

जिल्लामा १० हजार ४५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जयपृथ्वी नगरपालिका–१ का जीवनबहादुर सिंहले अघिल्ला वर्षमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको बताए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदूरी गरी खानेहरू पनि गाउँघरमा फर्किएर खेती किसानी गर्न थाले तर समयमै पानी नपर्दा सङ्कट परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले यस वर्ष फागुन १५ गतेसम्म पानी नपरे पाखो जमीनतिर १० देखि १२ प्रतिशत र सिँचाइयोग्य जमीनमा चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने बताए ।

जिल्लामा अरू जिल्लाभन्दा बाँझो जमीन छाड्ने प्रचलन कम रहेको र जिल्लामा १२ हजार टन खाद्यान्न जहिले पनि अभाव हुने भएकाले रु ४२ करोडको खाद्यान्न बाहिरबाट आयात हुने गरेको उहाँल जानकारी दिनुभयो । सुर्मा, साइपाल, मष्टा, छविसपाथीभेरा र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षाकोे तथ्याङ्कमा छन् । -कृषि साप्ताहिक/रासस

प्रकाशित मिति: सोमवार, माघ १९, २०७७