बिहिबार, चैत्र १५, २०८०

अर्गानिक भन्दै उपभोक्तालाई झुक्याउँदै गोल्यान समूहको माटो ब्राण्ड

काठमाडौं । पछिल्लो समयमा काठमाडौंमा अर्गानिक तरकारी तथा फलफूलका नाममा उपभोक्ताहरुलाई झुक्याएर चर्को मूल्य असुल्ने काम कृषि व्यवसायीहरुले गर्दै आईरहेको छन् । केही वर्ष अघिसम्म शनिबार एक दिन तारा गाउँ ह्यात, नयाँ बानेश्वर लगायतका केही ठाउँमा तरकारी तथा फलफूल अर्गानिकका नाममा विक्री वितरण हुँदै आईरहेको थियो । तर, त्यहाँ विक्री वितरण गरिने तरकारी अर्गानिक नभएको र अर्गानिकका नाममा उपभोक्तालाई ठगि गरिरहेको भन्ने समाचार प्रकाशन भए पछि त्यस्ता विक्री केन्द्रहरु वन्द भएका थिए ।

अहिले फेरि उही रुपमा व्यवसायीक घराना समूह गोल्यान समूह पनि अर्गानिक तरकारी तथा फलफूलका नाममा उपभोक्तालाई झुक्याउँदै आईरहेको खुल्न आएको छ । पवन गोल्या अध्यक्ष रहेको गोल्यान ग्रुपले कोभिड– १९ को मौका छोपेर माटो ब्राण्डका नाममा सञ्चालनमा ल्याएको तरकारी तथा फलफूल विक्री पूर्ण रुपमा अर्गानिक नभएको कृषि विज्ञहरुले बताएका छन् .

ठूलो घराना समूहले हात हालेको माटो ब्राण्डका नाममा भाटभटेनीमा विक्री भईरहेको तरकारी तथा फलफूल अर्गानिक भनेर चर्को मूल्यमा विक्री गरिएको भएपनि भाटभटेनीमा विक्री गर्न राखिएको फलफूल एवं तरकारीको प्याकेटमा अर्गानिक प्रमाणित कतैबाट भएको देखिँदैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विषादी रहित कृषि उत्पादन गर्नका लागि असल कृषि अभ्यास शुरु गरेको भएपनि पूर्ण रुपमा अर्गानिक बनाउन निकै समय लाग्ने र असल कृषि अभ्यासबाट नै क्रमश विषादी रहित कृषि उत्पादन गरी अर्गानिक तर्फ जान सकिने बताईरहँदा गोल्यान समूहले भने विभिन्न क्षेत्रका किसानहरुबाट खरिद गरेर ल्याएको कृषि उपजलाई अर्गानिक भन्दै विक्री गरिरहेको छ ।

भाटभटेनी सुपर मार्केटमा विक्री गर्न राखिएको गोल्यान समूहको माटो ब्राण्डको कुनै पनि कृषि उपजमा अर्गानिक प्रमाणित स्टिकर राखिएको छैन । अर्गानिक प्रमाणित गर्ने निकायको प्रमाण विना नै उपभोक्ताहरुलाई चर्को मूल्यमा तरकारी तथा फलफूल गरिरहेको भाटभटेनी सुपर मार्केटका प्रवन्धक यस विषयमा कुनै पनि कुरा बताउँन चाहँदैनन् । बरु माटो ब्राण्डका नाममा प्याकेजिङ्ग ल्याइएकोले आफूहरुले त्यसलाई विक्री वितरण गर्ने गरेको बताउँछन् ।

माटो ब्राण्डका नाममा गोल्यान समूहले प्याकेजिङ्ग गरी विक्री गर्दै आईरहेको फलफूल तथा तरकारी कहाँ उत्पादन भएको र अर्गानिक परीक्षण कहाँ गरिएको हो भन्ने विषयका बारेमा माटो ब्राण्डकी निर्देशक लतिका गोल्यान सम्पर्कमा आउन चाहिनन् । गोल्यान समूहमा पटक पटक गरिएको सम्पर्कमा लतिकासँग सम्पर्क हुन नसकेपछि समूहका अध्यक्ष पवन गोल्यानसँग माटो ब्राण्ड र अर्गानिकका विषयमा टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउनन चाहेनन् ।

गोल्यान समूह जस्तो प्रतिष्ठिट व्यवसायिक घरानाको नामबाट माटो ब्राण्ड स्थापना गरी अर्गानिक कृषि बस्तुका नाममा कृषि उपज बजारमा विक्री वितरण भईरहँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्तासँग सम्वन्धित संघसंस्था एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालय मौन बसिरहेको देखिन्छ । विना परीक्षण गोल्यान समूहले माटो ब्राण्डलाई अर्गानिक नाम दिएर उपभोक्ताहरुलई झुक्याउने काम गरिरहेका छ । यस तर्फ सरोकारवालाको ध्यान कहिले पुग्ने हो ? कि मिलेमतोमा नै सामसुम हुने हो ? – शिव पाण्डे

प्रकाशित मिति: आइतवार, पुस २६, २०७७