शुक्रबार, बैशाख ७, २०८१

कृषि अनुसन्धान परिषदमा व्यापक सरुवा बैज्ञानिकलाई लेखा प्रमुखको जिम्मा !

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री अध्यक्ष रहने नेपाल कृषि अनुसन्धान परिषद्मा कर्मचारीको व्यापक सरुवा भएको छ । कृषि अनुसन्धान परिषद्का अध्यक्ष समेत रहेका कृषि मन्त्री घनश्याम भुसालले कार्यकारी निर्देशक बनाएका दीपक भण्डारीले अहिले मन्त्री भुसालकै हित विपरित काम गर्न थालेको बताइएको छ ।

कृषि मन्त्री भुसालले नार्कमा विज्ञतामा आधारमा विभाग वा महाशाखा प्रमुखको हेरफेर गर्ने निर्देशन दिएको भएपनि कार्यकारी निर्देशकले भने मन्त्रीको निर्देशन विपरिात आफ्नो योजना अनुरुप अस्तव्यस्त रुपले सरुवा गरेको कृषि अनुसन्धान परिषद्का कर्मचारीहरुले आरोप लगाएका हुन् ।

कार्यकारी निर्देशक दीपक भण्डारीले केही बैज्ञानिकहरुको सेटिङ्गमा ६३ जनाको सरुवा गरेका छन् । कृषि अनुसन्धान परिषद्मा कृषि प्राविधिक बैज्ञानिकहरुको सरुवा गरिरहँदा आर्थिक प्रशासनको निर्देशकका रुपमा जिम्मा भने बैज्ञानिकलाई दिएका छन् ।
राज्यले लाखौ लगानीमा कृषिको विकासका लागि पढेका बैज्ञानिकहरु अहिलेको सरुवालाई हेर्ने हो भने अव नार्कमा टिप्पणी उठाएर बस्ने देखिएको छ ।

नार्कको आर्थिक प्रशासनको जिम्मा कार्यकारी निर्देशक भण्डारीले वरिष्ठ बैज्ञानिक एस फोर डा युगनाथ घिमिरेलाई दिएका छन् । जव की नार्कमा विषयगत रुपमा लेखा तथा प्रशासनमा अन्य कर्मचारी भए पनि उनीहरुलाई जिम्मेवारी नदिएर बैज्ञानिक घिमिरेलाई आर्थिक प्रशासन निर्देशक बनाइएको छ ।

विहिबार नार्कको आर्थिका प्रशासन निर्देशकका रुपमा सरुवा भएका घिमिरे यस अघि नार्कको राष्ट्रिय व्यवसायिक बाली अनुसन्धान केन्द्र खुमलटारमा पदस्थापना भई राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रमा प्रमुखका रुपमा काजमा कार्यरत थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७