शुक्रबार, चैत्र १६, २०८०

चिनी साहुको मुठ्ठीमा सरकार उखु किसानहरुले ९० करोड भुक्तानी पाएनन्

काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर सरकारले आफू चिनी साहुको गुलाम भएको भएको पुष्टि गरिदिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिसका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत विहीबार बसेको मन्त्रीपरिषद्को वैठकले प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा पु¥याएको हो ।

चिनीको मूल्य ५८ रुपैयाँ प्रति किलो हुँदा किसानहरुले ५ सय ३६ रुपैयाँ पाउँदै आईरहेका थिए भने अहिले चिनीको मूल्य ८० रुपैयाँ प्रति किलो पुग्दा सरकारले प्रति प्रतिक्विन्टल ८ रुपैयाँ मात्र बढाएर किसान मारा नीति देखाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा गरेका कारण उखुको लागत मूल्य कति पर्ने जानकारी नहुने भएकाले सम्वन्धित मन्त्रालयले गरेको सिफारिसकै आधारमा उखुको समर्थन मूल्य तोकिने गरेको जानकारी दिएका छन् ।

किसानहरुको लागत मूल्य, ढुवानी र मुनाफा जोडेर समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गरेको सोही आधारमा मूल्य तोकिएको उद्योग मन्त्रालयको दावी छ । उद्योग मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ मूल्यमा लागत मूल्य ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयले जनाएको छ ।

एकातिर सरकारले समर्थन मूल्य भन्दै उखु किसानहरुका लागि मूल्य तोकिदिएको छ भने अर्कोतिर सरकारले दिएको अनुदान रकम समेत अन्यत्र प्रयोग गर्दै चिनी मिलका साहुहरुले किसानहरुलाई विगत वर्षकै उखुको भुक्तानी दिएका छैनन ।

हाल सञ्चालनमा रहेका चिनी मिलहरुले किसानहरुलाई करीव ९० करोड दिन वाँकी रहेको बताएका छन् । किसानहरुले ९० करोड भुक्तानी लिन भनिरहँदा सरकारले भने चिनी मिलका मालिकहरुको पक्षमा उभिएर ६६ करोड तिर्न वाँकी रहेको बताई रहेको छ ।

सरकार कै भनाई अनुसार पनि किसानहरुको ६६ करोड भुक्तानी दिन आनाकानी गरेर बसिरहेका चिनी मिलका साहुहरुलाई भुक्तानी तत्काल दिनका लागि मन्त्रालयले भने कुनै पहल गरेको देखिँदैन ।

उखु किसानहरुका अनुसार लुम्विनी चिनी मिल नवलपरासीले १० करोड, इन्दिरा चिनी मिल नवलपरासीले ८ करोड, बागमती खाँडसरी चिनी मिल नवलपरासीले ४० करोड, अन्नपूर्ण सुगर मिल सर्लाहीले ३० करोड र महालक्ष्मी सुगर मिल सर्लाहीले ६ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी नदिएर दुख दिईरहेका छन् । यति ठूलो रकम चिनी मिलका साहुहरुले उपलब्ध नगराउँदा समेत सरकार किसानको पक्षमा उभिन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७