शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मल नआएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बबण्डर

काठमाडौं । नेपालको मुख्य बाली धान लगाउने बेलादेखि शुरु भएको रासायनिक मलको अभाव छ महिना वितिसक्दा पनि ज्यूँका त्यूँ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यो एक वर्षको अवधिमा तीनजना कृषि सचिव परिवर्तन भएपनि मलको अभावलाई परिपूर्ति गर्न नसक्दा नेपाली किसानहरु सरकारको कामकार्वाही प्रति रुष्ट छन् ।

दशकौंदेखि हुँदै आईरहेको रासायनिक मलको खेल भित्रभित्र रहस्यमय देखिन्छ । आम नागरिकको चासोको विषय नभएका कारण पनि रासायनिक मल भित्र भित्र ‘क्रोनिक’ जस्तै बनिरहेको छ । रासायनिक मल नपाउनुको पीडा ६५ प्रतिशत जनता अर्थात किसानहरुलाई मात्र छ । यतिधेरै किसानहरु यसबाट पीडित हुँदा पनि राज्य भने बेखवर जस्तै बनिरहेको देखिन्छ वर्षौदेखि ।

नेपाली कार्लमाक्र्स भनेर चिनिने घनश्याम भुसाल कृषि मन्त्री पदमा विराजमान छन् । तर, मन्त्री भएर आएदेखि सिन्को पनि भाँच्न सकेका छैनन् । रासायनिक मलको यत्रो अभाव हुँदा मन्त्रालयको मल शाखाका हाकिमका रुपमा रहेको डा. गंगादत्त आचार्यलाई निजी सचिवका रुपमा जिम्मेवारी सुम्पेर काम लगाएका छन् । रासायनिक मलको अभाव धान्न भन्दै कहिले पैचो त कहिले जिटुजीको माध्यमको रटान गर्दै आईरहेको भएपनि मल भने आउन सकेको छैन ।

रासायनिक मल नआउँदा किसानहरुको विजोग त भएको छ नै कृषि मन्त्री भुसालको वितगको छविमा समेत धक्का लागेको छ । मलको हाकिकलाई निजी सचिव बनाउँदा पनि मल नआएपछि मन्त्री भुसाल छटपटिनु स्वभाविकै हो । तर उनको छटपटाहट मल नआएरै हुनु पर्दथ्यो तर त्यसो हुन सकेको देखिँदैन । त्यही भएर होला बर्षौदेखि मलमा हुने गरेको खेल खुल्न थालेपछि कृषि विकास मन्त्रालयमा बबण्डर शुरु भएको छ ।

रासायनिक मल आयात गर्दै आईरहेको सरकारी निकाय कृषि सामग्री कम्पनीले मात्र मल ल्याउँदा भनेको समयमा नआएको भन्दै २०७१ सालमा बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहँदा कृषि मन्त्रालय समेत सम्हालेका थिए । त्यस बेलादेखि साल्ट टे«डिङ्ग कर्पोरेशनलाई पनि रासायनिक मल आयात गर्न स्वीकृति दिईएको थियो । तर मलको अभाव पनि कम हुन छाडेन । साल्ट टे«डिङ्ग कर्पोरेशन भित्र पनि रासायनिक मल माफिया र कृषि विकास मन्त्रालयको केही उच्च अधिकारीहरुको आर्थिक लोभले नेपाली किसानहरुसँधै मारमा पर्दै आईरहेको थिए । अहिले मलको चरम अभाव भएपछि मन्त्री, सचिववीच नै मतान्तर भईरहेको बुझिएको छ ।

रासायनिक मल अभाव बनाउने र मल ल्याउने विषयमा विभिन्न खेलहरु हुने गरेको देखिन्छ । त्यही खेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दोहोरिन लागेपछि बबण्डर मच्चिएको हो । भित्र भित्रै भुसको आगो जस्तै सल्किएको मल काण्ड लुकाउनका लागि विभिन्न व्यक्तिहरु लागिरहेको छन् । मन्त्रीका निजी सचिवका रुपमा काम गर्दै आईरहेका मलका हाकिम डा .गंगादत्त आचार्य त केही सिण्डिकेटधारी पत्रकारलाई प्रयोग पनि गर्दै आईरहेका छन् ।

मल भित्रको सिण्डिकेटका बारेमा जानकारहरु मौन बसिदिँदा अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय भित्रको बबण्डर बाहिर आउन सकेको छैन । रासायनिक मल भित्र करोडौंको खेल हुने गरेको तथ्य त विगतमा तात्काली कृषि मन्त्री गौरी शंकर चौधरीले प्रष्ट नै पारिदिएका थिए । अहिले सो खेलमा रमाउनेहरु धेरै नै देखिएका छन् । सोही खेलकै कारण प्रचण्डका घरबेटी शारदाले मल ल्याउन चाहेनन् र उनलाई कार्वाही गरेजस्तो गरियो ।

अहिले साल्ट टे«डिङ्ग कर्पोरेशनसँगको मिलेमतोमा अनुदानका मल आयात गरेजस्तो गरेर कृषि सामग्री कम्पनीलाई बदनाम गराउन एउटा खेमा लागिरहेको पनि देखिन्छ । यसको पर्दापछाडि मन्त्रालयका उच्च कर्मचारी मात्र होइन केही राजनीतिक नेतृत्वको पनि हात रहेको छ । जसका कारण मल न त आयात हुने देखिएको छ । नत किसानहरुले सहज रुपमा मल पाउने संकेत नै देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०७७