बिहिबार, बैशाख १३, २०८१

कृषि सचिव डा.योगन्द्रकुमार कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा रुपमा बढुवा भएका डा. योगन्द्रकुमार कार्कीले आज आफ्नो जिम्मेवारी सम्हालेका छन् । मंसिर १० गते बसेको मन्त्रीपरिषद्को वैठकले कार्कीलाई जेष्ठताका आधारमा सचिवमा बढुवा गरेको थियो ।

कार्की नेपाल सरकारका सहसचिवहरु मध्ये सवै भन्दा जेष्ठ सहसचिवका रुपमा कार्यरत थिए । सचिव बढुवामा विषयगत (क्लष्टर) व्यवस्था गरेपछि सचिव बढुवामा प्राविधिक सहसचिव निकै पछि परेका छन् । कार्की पनि १२ बजे अघि सहसचिव भएका थिए । आफूभन्दा पछाडिका प्रशासन तर्फका सहसचिवहरु सचिवमा बढुवा भएर अवकाश भईसक्दा पनि कृषि तथा पशुसेवा तर्फका सहसचिव भने सोही पदमा कार्यरत छन् । कार्की पनि करीव १२ वर्ष पश्चात सचिवमा बढुवा भएका हुन् ।

विशेषतः सचिव बढुवामा जेष्ठताका आधारमा बढुवा हुने वाहेक लोकसेवा आयोगले सिफारिस गरेका मध्ये छनौटका क्रममा भने राजनीतिक प्रभाव पर्ने भएकाले सचिव पद उम्कने सम्भावना पनि रहने गर्दछ । यस अघि पनि लोक सेवा आयोगको सिफारिस परेका कार्की विविध कारणले सचिव हुन पाएका थिएनन् । अहिले पनि कार्कीलाई सचिव हुन नदिने खेलमा केही व्यक्ति नलागेका भने होइनन् ।

क्लष्टरकै आधारमा पनि केही वर्ष अघि नै कार्की सचिव भईसक्नु पर्ने थियो । तर उनलाई सचिव हुनबाट रोकिएको थियो । अहिले पनि जेष्ठताका आधारमा नभएको भए कार्की सचिवमा बढुवा हुने थिएनन्। १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान जस्तै कार्कीको भाग्य बलियो भएकै कारण अहिले भने जेष्ठताका आधारमा सचिवमा बढुवा भएका छन् ।

निजामती सेवाको अवधि ५८ वर्षे उमेर कायम भएको अहिलेको व्यवस्था अनुसार कार्की ९ महिनासम्म कृषि सचिवका रुपमा कार्यरत हुनेछन् । मंसिर १५ गते जिम्मेवारी सम्हालेका कार्की आगामी श्रावण १५ गते उमेरहदका कारण अवकाश प्राप्त गर्ने छन् । नेपालमा कृषि आयोजना ल्याउनका लागि विदेशी दातृनिकायहरुसँग निकै नै नजिक रहेका काम गर्दै आईरहेका कार्कीले नौ महिनाको अवधिमा कृषिमा कस्ता योजना र कार्यक्रम ल्याउने छन् त्यो भने समयले नै बताउला ।

प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७