शुक्रबार, चैत्र १६, २०८०

के गर्दैछन् सिंहदरबार भित्र कृषि मन्त्री भुसाल ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट धूलो दूध आयात रोक्ने र भारतबाट निर्वाध रुपमा आयात गरिने गरेका पशुपन्छीहरको स्वास्थ्य परिक्षण प्रमाणपत्र अनिवार्य गर्दा करीव ११ महिना अगाडि मन्त्रीको पद गुमाउनु पर्यो ।

खनालको मन्त्री पद गुमेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्रीका रुपमा २०७६ मंसिर ५ गतेबाट जागिरे जीवन शुरु गरे एमालेभित्रका कालमाक्र्सका रुपमा चिनिएका नेता घनश्याम भुसाल ।

भुसाल कृषि मन्त्री भएर आएको करीव छ महिना त नयाँ दुलही जस्तो चुपचाप नै बसे । मन्त्री निवास पुल्चोकबाट सिंहदर र बारबाट मन्त्री निवास आउने जाने बाहेक केही पनि गर्न सकेनन् । मन्त्री हुनु भन्दा अगाडिसम्म निकै चर्को वहश गर्ने गरेका भुसालले प्रधानमन्त्री केपी ओलीलाई भएभरको शक्ति लगाएर युट्युवेहरुको क्यामरामा गाली गर्थे ।

तर परिस्थिति फेरियो । सरकारले काम गर्न सकेन । जनतालाई साम्यवादी कम्युनिष्ट सरकारले न्याय दिन सकेन भन्दै कुर्लिएका भुसाललाई ओलीले कृषि मन्त्री दिएपछि उनी पनि थच्चिए ।

मन्त्रालय बुझ्नै नै छ महिना लगाएका भुसालले के बुझे सायद उनैलाई थाहा होला । मन्त्रालय भित्र हुन्छ प्रसादहरुसँग रमाउँदै गर्दा अहिले नेपाली किसानहरुलाई उनले निकै नै अन्याय गरे । किसानहरुले धान रोप्ने बेलामा नपाएको रासायनिक मल धानमा बाला लाग्न शुरु गर्दा पनि रासायनिक मल पाउन सकेनन् ।

घनश्याम भुसाल मन्त्री भएर आए पश्चात कृषिमा आमूल परिवर्तन हुने भन्दै केही भरौटेहरुले निकै नै झ्याली पिट्ने काम पनि गरे । तर यिनी अरुले लेखिदिएकोसिद्धान्त कण्ठ गरेर फलाक्ने नेताका रुपमा कृषि मन्त्री भएर आएपछि चिनिए ।

रुपन्देहीमा पक्कै पनि खेतीपाती गरेका थिए होला । आफूले जान्ने भएपछि खेतमा पाइला नहालेको भएपनि केटाकेटी छँदा बाआमासँगपक्कै खेतमा पुगेका थिए होलान् । असारमा धान रोपेर मंसिरका काटिन्छ भन्ने पनि थाहा थियो होला । धान रोप्नका लागि रासायनिक मल प्रयोग गरेका पनि यिनलाई अवगत थियो होला तर, यिनी मन्त्री भएर आएपछि नेपालमा रासायनिक मलको हाहाकार भयो ।

कृषि मन्त्री अध्ययन गर्न नै मस्त भए किसानहरुको के मतलव सिंहदरबारभित्र भेट्न आउने किसानका नेताहरुलाई घण्टौं दर्शन सुनाएर बस्ने काम बाहेक यिनले केही पनि गर्न सकेनन् करीव १ वर्ष भित्र के गरे त भुसालाले भनेर सोध्यो भने उत्तर दिने ठाउँ छैन । पञ्च नीति बनाउन नै यिनलाई नै महिना लाग्यो जुन विगतका मन्त्रीले ल्याएका योजना भन्दा केही पनि फरक दिन सकेनन् ।

हुन त जुन जोगी आएपनि कानैचिरेका भन्ने नेपाली उखान नेपालका किसानहरुमा पचिसकेको छ । कृषि मन्त्री जो सुकै आएपनि किसानहरुले कहिल्यै पनि मलको अभाव नखेपेको समय छैन । गुणस्तरहीन बीउबाट मुक्त पाउन सकेका छैनन् ।

त्यसो भए कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा के गरेर बसिरहेका छन् त मन्त्री भुसाल भन्ने जिज्ञासा आम किसानहरुले गर्न थालेका छन् । तर त्यसको जवाफ स्वयं मन्त्रीसँगै छैन । बोल्ने मिल्ने भए सायद भन्थे होला म त अध्यक्ष ओलीको विरोधमा उत्रिएकाले जागिर दिए त्यही जागिर खाएर बसिरहेको छु ।

जागिरे कर्मचारी जस्तै १०देखि ५ बजेसम्मको डिउटी गर्ने, कार्यकर्ताहरुसँग भेटघाट गर्ने, सम्भव भएसम्म रुपन्देही भित्रमात्र योजना पार्ने र काम भएन भने केही जिल्ला घुमेर देश दर्शन गर्ने बाहेक कृषि मन्त्री भुसालले केही पनि गर्न सकेनन् र गर्न पनि सक्दैनन भन्ने कुराको पुष्टि रासायनिक मलबाट देखिएको छ । सिंहदरबार भित्र बसेर मन्त्री भुसालले केही व्यक्तिको सरुवा गर्ने बाहेक अरु केही पनि गर्न सकेनन् । थप केही समय अझै जागिरे खाईरहने छन् । – शिव पाण्डे

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७७