शुक्रबार, चैत्र १६, २०८०

प्रशासनले गिजोलेको कृषि क्षेत्रको विकास कसरी सम्भव छ

काठमाडौं । वर्तमान संरचना अनुरुप नै नेपाली कृषि क्षेत्र अगाडि बढ्ने हो भने आगामी दश वर्षसम्ममा ८० प्रतिशत भन्दा बढी खाद्यान्नमा परनिर्भर हुने संकेत देखिन्छ ।विशेष गरी नेपालको कृषि क्षेत्र अहिले प्रशासन संयन्त्रले पूर्ण रुपमा गिजोलेको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नालायक नेतृत्व र पदीय जिम्मेवारी वोध गर्न नसक्ने प्राविधिक कर्मचारीहरुका कारण कृषि क्षेत्र ओरालो लाग्दै गएकोमा दुई मत छैन ।

हो, कृषि क्षेत्र प्रशासन संयन्त्रले गिजोलेको छ । त्यसका प्रशस्त प्रमाणहरु छन् । तर त्यही गिजोलाईमा पर्ने प्राविधिक कर्मचारीहरु असक्षमता कै कारण कृषि प्रधान देश कृषक प्रधान भईसकेको छ ।

अहिलेको संरचना र अवस्थालाई नियाल्ने हो भने आगामी १० वर्षसम्ममा नेपालले खाद्यान्न आयातमा ८० प्रतिशत परनिर्भर बन्न पर्ने देखिन्छ ।
एक दशकको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व गर्ने सचिव एवं जनप्रतिनिधिका रुपमा आएका कृषि मन्त्रीहरुको कार्य हेर्ने हो भने प्राविधिक सचिवले मन्त्रालय नेतृत्व गरेको समय भन्दा प्रशासनिक नेतृत्वले सम्हालेका निकै नै परिवर्तन भएको देख्न सकिन्छ ।

दश वर्षका अवधिमा कृषि विकास मन्त्रालयले करीव १० वटै मन्त्री फेर्न सफल भयो भने ८ जना सचिव परिवर्तन भए । ती मध्ये १ जना बाहेक सवै सचिव प्राविधिक नै भए तर कृषि क्षेत्रले परिवर्तन गर्न सकेन ।

अहिले त क्लष्टरका नाममा प्राविधिक सचिव नै अनिवार्य गरिएको छ । जसले भविष्यमा कृषिको परिवर्तनको कुनै लक्षण नै देखिँदैन ।
विगत १० वर्षको अवधिमा कृषि क्षेत्रको विकासका नाममा अवौं रुपैयाँ वैदेशिक सहायता आए तर ती सवै पानीका फोका जस्तै भए । अहिले पनि कृषि क्षेत्रका प्रशासनिक क्षेत्रको हावी छ । कृषि योजना निर्माण होस् या बजेट निर्माणदेखि कर्मचारीको दरवन्दी मिलानसम्ममा पनि प्रशासन क्षेत्रले हस्तक्षेप गर्दै आईरहेको देखिन्छ । यो अवस्थालाई हेर्ने हो भने र प्रशासनिक क्षेत्रको हस्तक्षेप रहुञ्जेल कृषि क्षेत्रको विकास केवल काजगमा मात्र हुने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७७