शुक्रबार, चैत्र १६, २०८०

कृषिका माध्यमबाट आर्थिक स्तर सुधार्न नमूना गाउँ निर्माण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको छ । कृषिको माध्यमबाट जनताको आर्थिक स्तर सुधार गर्ने र प्रत्येक स्थानीय तहलाई नमूना बनाउने उद्देश्य सहित गण्डकी प्रदेश सरकारको सहयोगमा सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको हो ।
उक्त गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ऋषिङमा स्थापना गरिएको कृषि गाउँ साँच्चिकै नमुना बन्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले किसानलाई व्यावसायिक बन्न हौस्याएकाले मिहेनत गरेर नमुना बन्नुपर्ने उनको भनाई थियो । आर्थिक वर्ष ०७५÷०७६ मा प्रदेश सरकारले शुरु गरेको यस कार्यक्रमा चालु वर्षमा प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उनले जानकारी दिए ।
मन्त्री गुरुङले सजगता अपनाएर आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । गुरुङले सजगता अपनाए कोरोनाबाट बच्न सकिने भएकाले सजगता अपनाएरै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने धारणा राखे । “केही ठाउँमा समुदायमा कोरोना फैलिसकेको छ । आफू कसरी बचिन्छ आफैले सोच्ने हो,” उनले भने, “सरकारको तर्फबाट यसअघि नै लकडाउन गरेर महामारीबाट बच्ने प्रयत्न ग¥यौँ । लामो समय गरिएको लकडाउनले देशको अर्थतन्त्र शिथिल बनाएको छ । अर्थतन्त्र चलायमान भएन भने फेरि अर्को संकट उत्पन्न हुन्छ ।”
छनौट भएका गाउँको कम्तिमा पचास घरधुरीबाट एक÷एक जना सदस्य रहने गरि कृषि सहकारी वा समूह मार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेवाली उत्पादन गर्न सक्नेछन् ।
छनौट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष ३० लाखका दरले अनुदान उपलव्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।

प्रकाशित मिति: आइतवार, साउन ३२, २०७७