शुक्रबार, चैत्र १६, २०८०

भारतको राजस्थानबाट सलह नेपालमा आउने सम्भावना बढ्यो

काठमाडौँ । सलहको अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने सम्भावना बढेको छ । भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए ।

आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको उनले बताए ।

अरबका देशबाट पाकिस्तान हुँदै भारतमा नयाँ नयाँ सलहको झुण्ड आउने क्रम चलिरहेकोले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने उनले बताए । असार २८ गते नेपाल आएको सलह भने हिजो बेलुका सुर्खेतको पच्चिमी क्षेत्रको जंगलमा गएर बसेका छन् ।

सुर्खेतकै छिन्चुमा बस्न खोजेको र स्थानीयबासिन्दाले भगाएपछि पश्चिमतर्फ गएर जंगलमा बसेको जानकारी आएको उनले बताए । किसानले सतर्कता अपनाएर बस्न नदिएका कारण र मौसम प्रतिकूलताका कारण सलहको झुण्ड पटक पटक नेपाल आए पनि धेरै नोक्सानी गर्न पाएको छैन ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७