बिहिबार, चैत्र १५, २०८०

व्यवसायिक रुपमा कुखुरापालन गरिरहनु भएको छ भने यी कुरामा ध्यान दिनुस्

काठमाडौं । व्यवसायिक रुपमा कुखुरा पालन गरिरहनु भएका किसानहरुले अहिलेको विषम परिस्थितिमा आफ्ना फार्ममा रहेका कुखुरा तथा त्यसबाट लिएको उत्पादनलाई समेत जोगाउनु पर्ने अवस्था रहेकाले तल उल्लेखित कुरामा ध्यान दिएमा निकै नै सहज हुने देखिन्छ ।

० दिउँसोको तापक्रम ३० डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरुमा पालिएका कुखुराहरुले दाना कम खाने, अन्डाको तौल घट्ने र अन्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले कुखुरा पालक कृषकहरुले खोरको तापक्रम सकेसम्म कम बनाईराख्ने उपायहरू अपनाउनुहोस्।

०दानाको खपतमा कमी भएमा दिनको समयमा दाना खान नदिई बिहान सबेरै र रातीको समयमा दाना दिने प्रबन्ध मिलाउनुहोस्।

० कुखुरामा फाउल पक्स देखिन सक्ने भएकोले लेयर्स कुखुरामा पहिलो पटक ४२ दिनमा (पखेटामा) र १२–१४ हप्तामा फाउल पक्स विरुद्ध पुन खोप दिनुहोस् । यस्तो रोगको शंका लागेमा वा यो रोग देखा परेमा भेटेरीनरी प्राबिधिकसँग सम्पर्क राख्नुहोस् ।

० गर्मी मौसममा कुखुराको भालेको प्रजनन क्षमतामा कमी आउने हुनाले ब्रिडिङ्ग स्टकमा भालेको संख्या बढाएर १२–१५% सम्म राख्नुहोस् । साथै दानामा भिटामीन(ई तथा सेलेनियमको मात्रा बढाउनुहोस्।

०कुखुराको सुलीमा बढी आर्द्रता हुने भएकोले धेरै एमोनिया उत्पादन भई श्वासप्रश्वास सम्वन्धी समस्या हुने हुँदा खोरमा भेन्टीलेशनको राम्रो व्यवस्था गर्नुहोस्।

० यो समयमा पानीमा इ–कोली (E-coli) को मात्रा बढी हुने हुँदा कुखुरालाई दिने पानीमा ब्लिचिङ (bleaching) पाउडर १५ ग्राम प्रति १००० लिटर पानीमा वा ५०५ हाइड्रोजन पेरोअक्साइड ८ एम.एल. प्रति १००० लिटर पानीमा मिसाई ३० मिनेटसम्म निर्मलीकरण गरेर खान दिनुहोस् ।

० आफ्ना फार्ममा उत्पादन भएका अण्डालाई बजारीकरण गर्न प्रतिकूल अवस्था (कोभिड(१९ का कारण लकडाउन रहेको) भएकाले चिसो, सुख्खा र घाम नपर्ने स्थान हेरि फार्ममा नै भण्डारण गर्नुहोस्। पानीमा धोईएका अण्डाहरू लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा अण्डाको बाहिरी सतहमा फोहोर लागेको छ भने त्यस्ता अण्डाहरूलाई पानीले नधोई सफा, सुख्खा कपडाले पुछेर भण्डारण गर्नुहोस् ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७