शुक्रबार, चैत्र १६, २०८०

चर्चाका लागि कृषि मन्त्रीको निरिह अभिव्यक्ति, जुम्लामा फार्म खोल्ने के वेवकुफ !

काठमाडौं । आफूलाई कालमाक्र्सका रुपमा चिनाउने वर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चर्चाको लागि निरिह अभिव्यक्ति दिएका छन् ।

मन्त्री भएर आएदेखि सिन्को पनि भाँच्न नसकेका भुसाल अहिले चार दशक अघिका कृषिका विज्ञहरुलाई गाली गर्दै ४० वर्ष यता कृषि क्षेत्रलाई ध्वस्त बनाउने काममा लागि परेको आरोप समेत लगाएका छन् । नेपाली कृषिमा क्षेत्र तीस चालीस वर्षदेखि विगार्ने काम भएको आरोप लगाउने मन्त्री भुसाल ४० वर्ष अघि युवा जवान थिए । राजनीतिमा सायद होमिएका थिए होलान् साम्यवाद ल्याउनका लागि ।

तर तिनै कम्युनिष्ट भनिने कमाउनिष्टहरुको नेतृत्वमा मन्त्रालय सम्हालेका कालमाक्र्सले आफूले नेतृत्व गरेको मन्त्रालयमा चार दशक अघिदेखि काम गरेका कर्मचारीहरुलाई यस्तो आरोप लगाउनु भनेको सायद भुसालकै लागि पनि प्रश्न उठाउनु पर्ने अवस्था देखिएको छ ।

मन्त्री भुसालले ४० का दशकमा जुम्लादेखि विकट जिल्लाका गाउँमा पुगेर कृषि फार्महरु स्थापना भएको सायद देखेनछन् । उनी त पछिल्लो दश वर्ष यता कृषिका परियोजना पढेर पुराना कृषि विज्ञहरुलाई गाली गर्न तस्सिएका छन् ।

हिजो पदमा नहुँदा के भयो भन्ने कुरा एकातिर होला कृषि क्षेत्र विग्रनु भनेको कृषि वैज्ञानिक वा कृषि प्राविधिक कर्मचारीहरुको मात्र हात छैन । भुसाल जस्तै कृषि मन्त्रीहरु जो आफू मन्त्री हुँदा सरकारी बजेट आफू अनुकूलका परियोजनामा राख्ने परिपाटी भएका कारण पनि यो क्षेत्र ध्वस्त भएको हो । यतिखेर कृषि मन्त्री भुसालले किसानलाई युरिया मल सहज गरिदिने क्षमता राख्लान् ? उनकै पार्टीका अध्यक्ष प्रधानमन्त्री छन् । उनकै सहकर्मी विद्धान डा युवराज खतिवडा अर्थमन्त्री छन् तर किसानले युरिया मल पाउन सकिरहेको छैनन् किन त ?

कि चालीस वर्ष अघिका कृषिका कर्मचारीहरुले विगारेका कारण अहिले मल नआएको हो ? आफू पदमा बसेर पनि किसानका लागि कुनै काम गर्न सक्दैनन् र कृषिमा थोरै भएपनि परिवर्तनको संकेत दिन सक्दैनन् भने अहिलेका भ्रष्ट कर्मचारी तन्त्रसँग तुलना गरेर हिजोका कर्मचारीलाई दोष दिने काम मन्त्रीले गर्न सुहाउँदैन ।

हाल विद्यमान जिल्ला जिल्लामा रहेका फार्म केन्द्रहरुको कर्मचारी खटाउन नसक्ने प्राविधिक कर्मचारीलाई उत्पादन क्षेत्रमा क्रियाशील गराउनु पर्ने ठाउँमा टिप्पणी उठाएर काम लगाउने मन्त्री भूसालले भाषण गर्नु भन्दा मन्त्री पद नै छाडेर जाँदा उचित हुने हो कि ? होइन भने यस्ता वक्कमफुस्से भाषण गर्ने र आफू अनुकूल चर्चामा आउने प्रयास नगरेकै राम्रो होला ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७