शुक्रबार, चैत्र १६, २०८०

अमेरिकन फौजी किराको व्यवस्थापन यसरी गर्नुस्

अहिले मुलुकभर मकै उत्पादन गरिरहनु भएका किसानहरु अमेरिकन फौजी किराको आक्रमणबाट निकै नै प्रताडित बन्नु परेको छ । जसका कारण मकै उत्पादनमा निकै नै ह्रास आउने संकेत देखिएको पनि छ । यो अवस्थाका किसानहरुले आफ्नो बाली जोगाउनका लागि निकै नै मेहनत गर्नु परेको अवस्था छ ।

यो खतरनाक कीरा भएकोले सबै सरोकारवालाहरु र कृषकहरु यस कीराको ब्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ । यो कीराको ब्यवस्थापनको निम्ति एउटै मात्र उपाय प्रभावकारी हुन सक्दैन । त्यसैले यो कीराको ब्यवस्थापनका लागि निम्न बमोजिमका एकिकृत शत्रुजीव ब्यवस्थापनका उपायहरु अवलम्बन गर्नु पर्छ ।

 खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।
 मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने ।
 एउटा पकेट क्षेत्रमा सकेसम्म एकै समयमा र अगाडि मकै रोप्ने ।
 मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।
 डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा
पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
 बिरुवालाई स्वस्थ्य र कीराको क्षति सहनसक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।
 मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ एस बिषादी प्रति किलोग्राम बीउमा ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको
३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।
 निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरु संकलन गरी नष्ट गर्ने ।
 पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल (Papery window) हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम (Azadirachtin1500 ppm)  ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।
 मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक  विषादीहरु आलोपालो गरी विषादी मिसाएको घोल प्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नु पर्दछ ।

0  स्पाइनेटोराम (Spinetoram) ११.७ एस.सी. १ मी.ली. प्रति २ लिटर पानीका दरले वा
0  इमामेक्टिन बेन्जोएट (Emamectin Benzoate) ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा
0  क्लोरएन्ट्रानिलीप्रोल (Chlorantraniliprole) १८.५ प्रतिशत एस.सी. १ मी.ली. प्रति २.५ लिटर पानीका दरले वा
0 स्पाइनोस्याड (Spinosad) ४५ प्रतिशत एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।

लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थाले पछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा विषादी प्रयोग नगर्ने । त्यसैले, मकै बालीमा कीराको क्षतिको लक्षणहरु देखिनासाथ विषादीको प्रयोग वा अन्य व्यवस्थापन विधि अपनाई नियन्त्रण गर्नु पर्दछ । रासायनिक विषादीको प्रयोग गर्दा सुरक्षात्मक उपायहरु (मास्क, चस्मा, पुरा बाहुला भएको लुगा र जत्ता लगाएर) अवलम्वन गर्नुपर्छ । पर्खनु पर्ने समयको ख्याल गरौ र जथाभावी बिषादीको दुरुपयोग नगरौं ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३१, २०७७