शुक्रबार, चैत्र १६, २०८०

किसानको तरकारी बजारमा पु¥याउन समस्या

काठमाडौं, जेठ । व्यावसायिकरूपमा उत्पादित तरकारी बिक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा बिक्री हुनसकेको छैन ।

जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामेलगायतका स्थानमा उत्पादित तरकारी बजारमा पु¥याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ । खुमडाँडा सामूहिक तरकारी समूहका अध्यक्ष जीतबहादुर रानाले १६ रोपनी जग्गामा उत्पादित काँक्रो, बन्दा, टमाटर बेच्नका लागि बजारको अभाव हुँदै देखिएको बताए ।

उनले छ हजार काँक्रोको बिरुवाबाट उत्पादित काँक्रा अहिले बजार पाउन नसकेपछि २० क्यारेट स्थानीय बासिन्दालाई निःशुल्क वितरण गरेका छन् । बाँकी काँक्रो टिपेर राख्ने काम मात्र भएको छ । गाउँमा किनेर खाने अवस्था छैन । उक्त स्थनमा २६ युवाको सक्रियतामा व्यावसायिक तरकारी खेती हुँदै आएको हो । व्यावसायिक तरकारी खेतीका लागि १६ रोपनी जमिन वार्षिक रु एक लाख भाडामा समूहले लिएको छ । तरकारी बेचेर जग्गा भाडा तिर्ने योजनामा काम गरेका युवाले जग्गाको भाडा तिर्न नसक्ने अवस्था देखिएको रानाले बताए ।

पाल्पाको ताहँु, आर्यभञ्याङ, रामपुर, तानसेन क्षेत्रमा बिक्री हुँदै आएकामा अहिले बन्दाबन्दीमा निकासी हुन नसक्दा किसान मर्कामा परेको पूर्वखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कँडेलको बताए । कृषि शाखाका अनुसार सिलुवाका आठ युवाद्वारा उत्पादित आठ टन बन्दागोभी, एक टन काँक्रो, एक टन टमाटर, हेक्लाङ्गका ६१ युवाद्वारा तीन टन काँक्रा, जल्पाका १०० परिवारद्वारा उत्पादित एक टन टमाटर, दुई टन बन्दाकोभी, दु्ई टन सिमी निकासी हुनसकेको छैन ।

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका किसान खेतबारीमा फलिरहेको सिमी, टमाटरलगायतका तरकारी बजार नपाउने भएपछि चिन्तित बनेका छन् । तरकारी कहाँ लगेर, कसरी बेच्ने होला भन्नेमा चिन्तित बनेको स्थानीय कृषक रामबहादुर बम्रेलले गुनासो गर्नुभयो । रैनादेवी छहरा गाउँपालिकाको मुझङ र सोमादीमा व्यावसायिकरूपमा तरकारी उत्पादन हुँदै आएको छ । उत्पादित तरकारी निकासीमा समस्या हुँदै आएपछि किसान निरास भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७७