तनहुँ, वैशाख । कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणका कारण विश्वभर देखिएको लकडाउन र भविष्यमा हुन सक्ने आर्थिक मन्दीलाई समेत मध्यनजर गरी यतिखेर कृषि उत्पादनको चर्को बहस हुन थालेको छ ।
समस्या पर्दा बहश एवं छलफल गर्ने र समस्या समाधान भएपछि विर्षेने नेपालीहरुको बानीका कारण हात्ति आयो हात्ति आयो फुस्सा जस्तै बन्दै गईरहेको छ ।
नेपालमा पनि लकडाउनका समयमा शहरमा रहेका नागरिकहरु आआफ्नै गाउँमा फर्केका कारण गाउँमा भएका बाँझो खेतहरुले यतिखेर खेतीमा परिणत हुन थालेको छ । कतिपयले आफ्नो खेती बाँझो हुने भएको र भविष्यमा हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै खेती गर्न थालेका छन् भने कतिपय दुइचार दिन गाउँमा दिन काट्ने मेलोमा रुपमा पनि खेती गर्न थालेका छन् ।
सिंहदरबारमा बस्नेदेखि ठूलो वैंकर, व्यापारी मात्र होइन अन्य पेशामा बसेका व्यक्तिहरु समेत अहिले कृषि उत्पादन बढाउनु पर्ने भन्दै आआफ्नो धारणा राख्न थालेका छन् । जसले लकडाउन भन्दा अगाडि कहिल्यै पनि कृषिको विकासका कुरा गर्ने गरेका थिएनन् ।
जे होस् लकडाउनले नेपाली कृषि क्षेत्रमा लाग्ने प्रेरणा भने दिईरहेको छ । यस परिवशेमा तनहुँको बन्दीपुर गाउँपालिकाले बाँझो जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्न लागेको छ । खेती गर्न नचाहने र बाँझो राख्ने व्यक्तिको जग्गा भूमि बैँकमार्फत गाउँपालिकामा ल्याई खेती गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउन लागिएको छ ।
बाँझो जग्गा उपयोग गर्दै कृषिलाई आधुनिकीकरण गरी गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जग्गा बाँझो हुनबाट जोगाउन गाउँपालिकाका छ वटै वडामा परिपत्र गरी कार्यान्वयनका लागि पहल थालिएको बताइएको छ ।
ठाउँ र हावापानी सुहाउँदो किसिमको अन्नबाली, तरकारी र फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्दैै आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए। खेती बाली गर्न इच्छुक कृषकलाई जग्गा भाडामा उपलब्ध गराइने निर्णय पनि भएको छ ।
Add Comment