मङ्लबार, बैशाख ११, २०८१

लकडाउनका कारण गाउँमा मान्छे बढेपनि खाद्यान्न जोहो गर्दै

ओखलढुङ्गा, वैशाख । खाद्य सङ्कट आउन नदिन ओखलढुङ्गामा स्थानीय उत्पादनको खाद्यान्न जोहो गर्न थालिएको छ । विभिन्न स्थानीय तहले शहरमा बस्नेहरू पनि बन्दाबन्दीमा गाउँ फर्किएकाले खाद्य सङ्कट आउन सक्ने भन्दै स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री सङ्कलन गर्न थालेका हुन् ।

खाद्यसामग्री अभाव हुन नदिन खिजीदेम्बा गाउँपालिका–४ खिजीकाती, सुनकोशी गाउँपालिका–७ र ८ च्यानमसहितका ठाउँमा स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री जोहो गर्न थालिएको हो । खिजीकातीमा गाउँमै उत्पादन भएको मकै, धान, गहुँ, आलुलगायतका खाद्यसामाग्री वडा कार्यालयकै संयोजनमा सङ्कलन गर्न थालिएको छ ।

हुनेखानेहरूबाट किनेर हुँदा खानेहरूलाई राहतस्वरुप वितरण गर्ने लक्ष्य राखिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । “हिजो बूढाबूढी आमाबाले वर्षभरिलाई जोहो गरेको अन्न अहिले शहरबाट आएका तीन पुस्ते परिवारले सिध्याइसकेका छन् । तत्काल उत्पादन गरेर खाइहालौँ भन्ने सम्भावना छैन”, न्यौपानेले भने, “बाहिरबाट किनेर ल्याएको चामल र दालभन्दा गाउँमा फल्ने अन्न आलु निकै स्वस्थकर हुन्छ, त्यसैले गाउँमा खाद्यसङ्कट नहोस् भनेर किसानबाट खाद्यान्न सङ्कलन गरेर अभाव हुनेहरूलाई दिने योजना छ ।” वडाले गाउँमा फलेको अन्नको समर्थन मूल्य तोकेर किसानसँग किन्न थालेको छ ।

किसानको बारीमा फलेको अन्नको मूल्य दिएर यतिबेला गाउँ फर्केका युवालाई गाउँमै कृषि पेशामा आकर्षित गराउन यस्तो योजना ल्याइएको वडाध्यक्ष न्यौपानेको भनाइ छ । “किसानलाई मल, बीउ, प्राविधिक सहयोग र अनुदानसमेतका कार्यक्रम ल्याएका छौँ । अब उत्पादनको मूल्यसमेत दिएपछि युवाहरू गाउँमै बसेर कृषिमा आत्मनिर्भर हुनुपर्छ”, न्यौपानेले भने, “बन्दाबन्दीमा फर्केका युवा उन्नत कृषि तथा पशुपालनमा लागेमा गाउँपालिकले आगामी वर्षको बजेट कृषि र पशुपालनमा केन्द्रित गरेर ल्याउनेछ ।”

सुनकोशी गाउँपालिकाको च्यानममा पनि स्थानीय हलेसी दर्शन कृषि सहकारी संस्थामार्फत खाद्यसामग्री जोहो गर्न थालिएको छ । कोरोना भाइरसको महामारीका बेला सबैतिर खाद्यसामग्री आपूर्तिमा समस्या भइरहेको र बन्दाबन्दीमा लम्बिने अवस्था आए पनि गाउँमा भोकमरीको समस्या नहोस् भनेर सहकारीमार्फत गाउँभरिको खाद्यसामग्री किनेर सङ्कलन गरिरहेको सहकारीका अध्यक्ष नवीनकुमार कटवालले बताए । उनका अनुसार सहकारीले विभिन्न दाताहरूबाट सहयोग प्राप्त रकमबाट अन्न जोहो गरेको हो ।

सहकारीले सङ्कलन गरेको खाद्यसामग्री भोकमारीबाट पीडित परिवारलाई स्थानीय सरकारमार्फत उपलब्ध गराउने योजना बनाइएको छ । सुनकोशी गाउँपालिका वडा नं ७ र ८ का दुवै वडाको निर्णयअनुसार निःशुल्क राहतस्वरुप वितरण गरिने वडा नं ८ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए । साविकको च्यानम गाउँ विकास समितिका अतिविपन्न परिवारलाई स्थानीय उत्पादनको अन्न सहयोग गरिने उनको भनाइ छ । “हुलका हुल मानिस गाउँ आएका छन् । खेतबारी बाँझो छ । किनेर खाएर कहिलेसम्म चल्छ ?”, उनले भने “आधुनिक शैलीमा परम्परागत खेती गर्ने आफ्नै बारीमा धान कोदो फलाएर खाने अभियानमा लागेका छौँ । कसैलाई पनि अनिकाल लागेर मर्न दिँदैनौँ ।” च्यानमका किसानलाई अन्न, मासु र दूधमा आत्मनिर्भर बनाउन गत वर्षदेखिनै दुग्ध चिस्यान केन्द्र र अदुवा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

च्यानममा कृषक र जनप्रतिनिधिसहितका सरोकारवाला बसेर स्थानीय उत्पादनको खाद्य सामाग्रीको मूल्य निर्धारण गरिएको छ । कोदो, मकै, गहुँ, फापर र अटेमार्सी जातको धानको प्रतिपाथी रु १५०, मकवानपुरे धान प्रतिपाथी रु १०० निर्धारण गरिएको छ । गाउँमा उत्पादन हुने आलुलाई प्रतिपाथी रु १०० दिने निर्णय गएको छ ।
सुनकोशी गाउँपालिकाले कृषिमा परनिर्भरता हटाउने योजना अगाडि बढाएको छ । स्थानीय किसानले उत्पादन गरेका खाद्यसामग्री सङ्कलन गर्ने अभियान गाउँपालिकाभरि रणनीतिकरूपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । “गाउँमा फलेको जे खाएपछि स्वस्थ छ, र सस्तो पनि छ तर किसानले खान पुग्ने मात्रै होईन बेच्न पुग्नेगरि उत्पादन गर्नुपर्छ”, अध्यक्ष अधिकारीले भने, “बजारको जिम्मा स्थानीय सरकारले लिन्छ । अब विस्कुट, चाउचाउ र चामल बोकेर गाउँमा आउने ट्रकमा गाउँको अन्न र तरकारीले भरेर फर्काउनुपर्छ ।” कृषिमा युुवापुस्ताको आकर्षण बढाउन पनि किसानको उत्पादनलाई मूल्य दिनुपर्ने अधिकारीको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७७