बिहिबार, बैशाख १३, २०८१

कृषि सचिवमा राजेन्द्र भारीलाई नियुक्त

काठमाडौं । लामो समयदेखि रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि तर्फको सचिव पदमा राजेन्द्र भारी नियुक्ति भएको छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले भारीलाई कृषि सचिवमा पदोन्नती गरेको हो । प्रदेश नं ६ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा कार्यरत भारी लामो समयदेखि नै सुर्खेतमा रहेर काम गरिरहेको छन् ।

तात्कालिन कृषि सचिव डा. युवकध्वज जिसी एफ.ए.ओको थाईल्याण्ड स्थित कार्यालयमा बाली संरक्षण अधिकृतका रुपमा जागिर पाए पछि उनले सचिव पदबाट गत माघ २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । उनको राजीनामा सोही समय सरकारले स्वीकृत गरेको थियो । जिसीको राजीनामा स्वीकृत भएसँग कृषि सचिवको पद रिक्त रहेको थियो ।

सोही रिक्त पदपूर्तिका लागि योगेन्द्रकुमार कार्की, राजेन्द्र भारी र कृष्ण आचार्य गरी तीन जनाको नाम सिफारिस भएको थियो । सिफारिस गरिएका मध्ये सरकारले एक जनालाई सचिवमा नियुक्ति गर्ने प्रावधान अनुरुप राजेन्द्र भारीलाई नियुक्त गरेको हो । सचिवमा नियुक्त भएका राजेन्द्र भारीले पनि आगामी ६ महिना पछि उमेरहदका कारण अवकाश प्राप्त गर्दै छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १८, २०७६