शुक्रबार, बैशाख ७, २०८१

कृषिमा को बन्ला सचिव ? भोली तीन जनाको नाम सिफारिस हुन सक्ने ?

काठमाडौं, फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि सेवा तर्फको सचिव पद रिक्त रहेको छ । कृषि सचिव डा. युवकध्वज जीसीले माघ २९ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएपश्चात सचिव पद रिक्त रहेको छ ।

कृषि सचिवले दिएको राजीनामा पश्चात रिक्त पद हटाउने भन्ने निकै चर्चा भएपनि सरकारले सो दरवन्दी नहटाउने भएको छ । कृषि सचिवको दरवन्दी रहने भएसँगै कृषि सचिवका लाईनमा रहेका सहसचिवहरु दौडमा देखिएका छन् ।

लोकसेवा आयोगले एक सचिवका लागि तीन जना सहसचिव वरिष्ठताका आधारमा सचिवका लागि मन्त्रीपरिषद्मा सिफारिस गर्ने छ । आयोगको सिफारिसमा पर्न सक्ने सम्भावितहरुमा डा. योगेन्द्रकुमार कार्की, डा.गोविन्दप्रसाद शर्मा, राजेन्द्रकुमार भारी डा विमलकुमार निर्मल र डा कृष्ण प्रसाद आचार्य रहेका छन् । यी पाँच जना मध्य कार्यसम्पादन मूल्यांकनमा पूरा पाएको अवस्थामा क्रमश सचिवका लाईनमा देखिन्छन् । तर उल्लेखित सहसचिवहरुको कार्यसम्पादन मूल्यांकनमा नम्वर काटिएको अवस्थामा तलमाथि पर्ने छन् ।

अहिले कृषि सचिवको चर्चामा रहेका पाँच मध्ये तीन जना सिफारिसमा पर्ने छन् भने तीन मध्येको लिगलिगे दौडमा कसले माजी मार्छ भन्ने कुरा समयले नै बताउला । जो होस् कृषि सचिव बन्नका लागि मात्र भन्दा पनि कृषि क्षेत्रको विकासका लागि काम गर्ने गरी दौडमा सामेल हुँदा उचित होला ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ७, २०७६