बिहिबार, चैत्र १५, २०८०

उचित मूल्य नपाउँदा उखु किसान मर्कामा

कपिलवस्तु, माघ । कपिलवस्तुमा सुगर मिल नहँुदा सरकारले तोकेको उखुको मूल्य किसानले पाउन सकेका छैनन् । शिवराज नगरपालिका–७ जवाभारीमा लामो समयदेखि सञ्चालनमा रहेको महालक्ष्मी सुगर मिल अन्यन्त्र सरेपछि कपिलवस्तुका उखु किसान चिन्तित बनेका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा एक याममा करिब २० क्विन्टल उत्पादन हुने उखु यस वर्ष आधाभन्दा कम उत्पादन भएको कपिलवस्तु उखु किसान सङ्घले जनाएको छ । मुख्य आम्दानीको स्रोत रहेको उखुलाई सरकारले तोकेभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यताले किसानले उखु उत्पादन गर्न छाडेका छन् । जिल्लामा उत्पादन हुदाँहँुदै पनि मिल अन्यन्त्र स्थानतरण गर्दा किसान मर्कामा परेको सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । “किसानलाई समस्या छ, अहिले पनि रु ३०० प्रतिक्विन्टल बेच्नुपरेको छ, यसरी किसानको लगानी पनि उठदैन्”—चौधरीले भने । सरकारले किसानलाई दिन प्रतिदिन समस्यमा पार्दै गएको चौधरीको भनाइ छ ।

उखु उत्पादन हुने याममा क्रसिङहरुले मनपरी गर्ने गरेका छन् । गुड क्रसिङहरुले प्रतिक्विन्टल रु ३०० का दरले उखु खरिद गर्ने गरेको किसान पुजारीप्रसाद चौधरीले बताए । “१० बिघामा उखु लगाएको भए पनि अहिले बेच्दा लगानी उठेको छैन, तर बेच्न बाध्य छौँ”, चौधरीले भने । स्थानीय ओमप्रकास चौधरीले आउँदो वर्षदेखि उखु नलगाउने बताउँछन् । “सरकारले ५३६ रुपैयाँ तोकेको छ यहाँ हामीले ३०० रुपैयाँभन्दा कममा बेच्नुपर्छ” उनले भने। पाँच वर्ष अघि सरकारले दिने भनेको अनुदान अहिलेसम्म नपाएको भन्दै उनले सरकार किसानको पक्षमा नभएको गुनासो गरे ।

जिल्लाको शिवराज नगरपालिकामा मात्र तीन दर्जन बढी गुड क्रसिङ सञ्चालनमा छन् । ती क्रसिङले किसानबाट सस्तो मूल्यमा उखु खरिद गर्दै आएका छन् । सरकारले सुगर मिलको लागि मात्र उक्त मूल्य तोकेको बताएको थियो । पहिलेको तुलनामा कपिलवस्तुमा उखु उत्पादनमा कमी हुँदै गएको छ । अहिले किसानले जग्गा बाँझो राख्न थालेका छन् । गतवर्ष किसानले उखु नवलपरासी पठाउने भने पनि उचित मूल्य नपाउँदा पठाएनन् । जिल्लाका किसानले सरकारबाट पाउनुपर्ने रु साढे दुई करोड अनुदान नपाउँदा विभिन्न समयमा आन्दोलित हँुदै आएका छन् ।

प्रकाशित मिति: आइतवार, माघ १२, २०७६