बिहिबार, बैशाख ६, २०८१

उखु किसानको बक्यौता नतिर्ने उद्योगको बैंक खाता बन्द

काठमाडौं, माघ । सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगको बैंक खाता बन्द गर्ने भएको छ । सरकारले चिनी उद्योगलाई दिएको समय सीमा सकिँदा पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने तीनवटा चिनी उद्योग अन्नपूर्ण, इन्दिरा र लुम्बिनीको बैंक खाता बन्द गर्ने भएको हो । ती उद्योगको बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अर्थ मन्त्रालयलाई पत्राचार छ ।

सरकारले गत १८ पुसमा ७ माघभित्र उखु किसानको बक्यौता रकम भुक्तानी तिर्न चिनी उद्योगलाई समयसीमा दिएको थियो । अन्नपूर्ण, इन्दिरा र लुम्बिनी मिल सञ्चालकले सरकारले दिएको समयसीमा सकिँदा किसान भुक्तानी गर्नु त परैजाओस् सरकारको सम्पर्कमा समेत आएका छैनन् ।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले चिनी उद्योगले सरकारको अवज्ञ गरेपछि बाध्य भएर चिनी उद्योगीको बैंक कारोबार रोक्का गर्ने निर्णय लिएको बताए । प्रवक्ता दिनेश भट्टराईले उखु किसानको बक्यौता रकम भुक्तानी नतिर्ने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी उद्योगको सम्पूर्ण आर्थिक कारोबार रोक्का गर्न अर्थ मन्त्रालयलाई बिहीबार पत्राचार गरिएको बताए । यसैगरी, उनले लामो समयदेखि उखु किसानको बक्यौता रकम नतिरेर सम्र्पकविहीन भएका उद्योगमाथि राजस्वसम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत पत्राचार
गरेको बताए ।

प्रवक्ता भट्टराईले भने, ‘अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिललाई उखु किसानको लामो समयदेखिको ठूलो परिमाणमा रहेको बक्यौता रकम हालसम्म भुक्तानी नदिएकाले सो रकम तुरुन्त भुक्तानी नगरे कानुनबमोजिम कारबाही गर्ने बेहोराको पत्र ३ पुसमा नै उद्योगलाई पत्राचार गरेको थियो ।’ केही बक्यौता रकम भुक्तानी गरे पनि पूरा भने गरेनन् । किसानको भुक्तानी छिटो गर्नू भनेर निर्देशन गर्दासमेत अटेर गर्दै आएका छन् । अहिले सम्र्पकमा समेत नआएको प्रवक्ता भट्टाईले बताए । यसैगरी, लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक प्रतिनिधि कोही पनि सम्र्पकमा नआएकाले सो उद्योगका सञ्चालक राकेशकुमार गोयलकी श्रीमती सुनिता गोयल वा प्रतिनिधिलाई सम्पर्कमा ल्याउन सहजीकरण गरिदिनसमेत गृह मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता भट्टाईले जानकारी दिए ।

मन्त्रालयका अनुसार पाँचवटा उद्योगले किसानको सबै भुक्तानी गरिसकेको छ । जसमा हिमालयन सुगर मिल्स प्रालि, इन्दुशंकर चिनी उद्योग प्रालि इस्टन सुगर मिस, रिलायान्स सुगर मिल र भागेश्वर सुगर मिललगायत छन् । एभेरेस्ट सुगरमिलको बैंक खाना उपलब्ध नभएका किसानको ७ करोड ९३ लाख ८ हजार ६२७ रुपैयाँ दिन बाँकी रहेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले माघ ५ गतेसम्म उखु किसानको ११ करोड ५० लाख भुक्तानी गरेका छन् । महालक्ष्मी सुगर मिलको उखु किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने २१ करोड ४० लाख तिर्न बाँकी थियो । यसैगरी, सरकारको निर्देशनपछि अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । अन्नपूर्ण मिलले सबैभन्दा कम किसानको भुक्तानी गरेको हो ।

यसैगरी, मन्त्रालयका अनुसार, बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाडसारी मिस प्रालि, महाकाली सुगर र लुम्बिनी चिनी उद्योग सम्पर्कविहीन छन् । मन्त्रालयका अनुसार बाग्मती खाडसारी दुई उद्योगको ८ करोड ४१ लाख ४१ हजार ५८६ रुपैयाँ बक्यौता रहेको छ । महाकाली सुगर मिलले ६२ हजार १०७ रुपैयाँ किसानको बाँकी रकम भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६