शुक्रबार, चैत्र १६, २०८०

नेपालमा पहिलो पटक ड्रोनका माध्यमबाट विषादी मल प्रयोग गरियो

काठमाडौं, पुस । नेपालमा पहिलो पटक ड्रोनबाट तरकारी बालीमा विषादी तथा झोल मल प्रयोग सफल भएको छ । तरकारी बाली विकास केन्द्र खुमटारमा पहिलो पटक ड्रोनबाट विषादी तथा झोल मल प्रयोग गरिएको हो । खुमलटारले प्रयोग गरेको यस ड्रोनबाट तरकारी बालीमा लागेका रोग पहिचान गर्न सहज हुने भएको छ । स्थानीय प्रविधि प्रयोग गरी नेपालकै इन्जिनियरहरुले निर्माण गरेको यो ड्रोनबाट विषादी तथा झोल मलको प्रयोग गर्न लामो प्रयास पछिमात्र सफल भएको हो ।
तरकारी बाली विकास केन्द्रका सूचना अधिकारी डोलराज पाण्डेले यसबाट नेपालमा पनि प्रविधिको प्रयोग सम्भव छ भन्ने स्पष्ट भएको बताए ।

खुमलटारमा रहेको तरकारी फार्मलाई विगत दुई वर्षदेखि अत्याधुनिक बनाउन निकै नै कष्ट वेहोर्नु परेको बताउँदै केन्द्रका प्रमुख अरुण काफ्लेले नेपालको कृषि क्षेत्रमा निकै जटिल अभ्यास गर्न आफूहरु सफल भएको बताए ।

विगतमा फार्मलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भएपनि आफू प्रमुख भएर आएदेखि नै नयाँ नयाँ प्रयोग गर्दै आईरहेको बताउँदै काफ्लेले भने, ‘यो फार्मलाई अन्तर्राष्ट्रिय स्तरको फार्म बनाउँछौं ।’ अहिले केन्द्रमा रहेको कर्मचारीहरुको समुह निकै नै सक्रिय र लगनशील भएकै कारणले ड्रोनको माध्यमबाट विषादी र झोल मल प्रयोग गर्न सफल भएको काफ्लेले बताए । हिमालयन इन्जिनियरिङ्ग कलेजका उपप्राध्यापक इजार खानको प्राविधिक सहयोगमा यसको प्रयोग सफल भएको काफ्ले बताउँछन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६