शुक्रबार, चैत्र १६, २०८०

होस् गर्नुस् कृषि मन्त्रीज्यू सचिवले डुवाउलान् ?

काठमाडौं, मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यतिखेर इमान्दार नेताका रुपमा चर्चा कमाएका घनश्याम भूसालले नेतृत्व गरिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गर्ने काम कुरो हरेक दिन वैठक, छलफल गर्दै बुझिरहेका पनि छन् ।

मन्त्री भूसालले आफ्नो सचिवालयलाई पूर्णता दिने मात्र होइन मन्त्रालयका केही व्यक्ति हेरफेर गर्ने काम पनि गरिसकेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत आम किसानहरुको मुहार फेर्ने सोचमा आएका भूसाल आए तर उनी मातहतका निकायको रवैया पुरानै छ ।
हिजो जसरी चलेको थियो त्यसरी नै चलाउने योजना छन् । मन्त्रीलाई सफल बनाउने या असफल बनाउने भन्ने भूमिका सोही मन्त्रालयका सचिवको पूर्ण हात हुन्छ । तर सचिवले सही र तथ्य कुरा जानकारी नगराउँदा मन्त्री विवादमा तानिने गरेका धेरै उदाहारण पनि छन् ।

अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको केही सहसचिवहरुको जिम्मेवारी फेरवदल गरिएको छ । मन्त्रीले जिम्मेवारी सम्हालेको साता दिन पनि वित्न नपाउँदै सहसचिवहरुको जिम्मेवारी परिवर्तन गर्नु पक्कै पनि मन्त्रीका लागि सहज संकेत भने नहुन सक्छ । यद्यपी मन्त्रालय नै नबुझी सचिवको सल्लाहमा यो वा त्यो गरिए वर्तमान कृषि मन्त्री भूसाल पनि विवाद पनि पर्न सक्छन् ।

कृषि तथा पशुपन्छी सेवाका क्षेत्रमा पञ्च ‘ज’ रुपमा चिनिएका डा. युवकध्वज जिसीले मन्त्री भूसालले जिम्मेवारी सम्हालेको साता दिन नपुग्दै किन सहसचिव स्तरका कर्मचारीहरुलाई सरुवा गर्न सल्लाह दिए ? मन्त्रीको सचिवालयले मन्त्रीलाई तात्तातो सरुवा वा जिम्मेवारी गर्न हुन्न भन्ने सल्लाह किन दिन सकेन ?

हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नीतिगत भ्रष्टाचार अत्यन्तै मौलाएको छ । चाहे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना होस् वा अन्य अनुदान दिने परियोजनाहरुमा । आफूहरुले दिएको अनुदानको पारदर्शि छ भन्ने बहाना देखाउनका लागि किसानको खातामा अनुदान पठाउने योजना पनि अत्यन्तै झुटको खेती हो भन्ने स्पष्ट नवनियुक्त मन्त्रीले बुझ्नु आवश्यक छ ।

काम गर्न नसकेको बहानामा बर्खास्त गरिएका कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले काम नै गर्न नसकेर बाहिरिनु परेको होइन । खनालले भारतबाट आयात गरिँदै आएको धूलो दुधमाथि प्रतिवन्ध लगाएकै कारण उनी गलहत्याईका हुन् । त्यति मात्र होइन उनले भारतबाट आउने पशुपन्छी लगायतको आयातमा समेत स्वास्थ्य परिक्षण प्रमाणपत्र अनिवार्य गरिदिए जसले व्यापारीहरु रुष्ट बनेका थिए । त्यसैको परिणाम उनी मन्त्रीपदबाट विदा हुनु प¥यो ।

भारतबाट म्याद सकिन लागेको धूलो दूध सस्तोमा आयात गर्न नपाएर छट्पटिएका सिताराम मिल्कका मालिक सुमित केडिया हुन या डेरी एशोसिएसनका केही बज्रस्वाठ नेताहरु उनीहरुलाई होस्टेमा हैसे गर्ने सचिव जिसी समेत खनाललाई हटाउन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको दैलो चाहार्न पुगेका थिए ।

दशैको मुखमा दूध उत्पादन गरिरहेका किसानहरुलाई विजोग बनाएर भारतबाट धूलो दूध आयात गरी लुट्न नपाएको झोंकमा मन्त्री खनालको कार्यकक्षमा नै देखाईदिने धम्की दिएका व्यापारीहरुकै कारण खनाल मन्त्रीबाट बर्खास्त हुनु परेको सत्य हो । अहिले मन्त्रालय सम्हालेका कृषि मन्त्री घनश्याम भूसाल पनि घेरावन्दीमा परिसकेका छन् ।

सत्ताभन्दा बाहिर रहँदा जनताका नाममा चर्का भाषण र अन्तर्वाता दिने उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कागजी अनुदान र नीतिगत भ्रष्टाचार रोक्न सक्ने सम्भावना क्षीण हुँदै गएको छ । हुनत मन्त्रालय सम्हालेको सातादिन वित्न नपाउँदै कामको मूल्यांकन गर्ने अवस्था त होइन यद्यपी मन्त्रीले रोजको उच्च तहका कर्मचारी, अहिले गरिएको सरुवाले यसलाई पुष्टि गर्ने संकेतका रुपमा लिँने कि ?

प्रकाशित मिति: मङ्लबार, मंसिर १७, २०७६