शुक्रबार, चैत्र १६, २०८०

नवलपरासीमा मात्र दुई करोड ५० लाखको खसीबोका बिक्री

 

नवलपरासी, असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।

गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।

बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताइन् । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनले बताए । सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताए । उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताए ।
सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७६