बिहिबार, बैशाख ६, २०८१

कमिशनको चक्करले खाद्यका उपसचिवहरुको सरुवा रोकियो

काठमाडौं, असोज । दुई तिहाईको बलमा सत्ताको रजगज गरिरहेका नेकपाका नेताहरु एक पछि अर्को विवादमा मुछिन थालेका छन् । नेकपामा नेता कृष्णबहादुर महराको तात्तातो काण्डका चलिरहेका बेला नेकपा (तात्कालिन माओवादी केन्द्र तर्फ) की कृषि राज्यमन्त्री रहेकी रामकुमारी चौधरी सरुवाको फाइल काण्डमा मुछिएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेपछि निलम्वनमा परेका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तात्कालिन महानिर्देशक सञ्जिव कर्ण र मन्त्री चौधरीको साँठगाँठका कारण अहिले मन्त्री चौधरी सरुवाको फाइल काण्डमा फसेकी छिन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको उपसचिव स्तरका कर्मचारी सरुवाका विषयमा राज्यमन्त्री चौधरीले भ्रष्टाचारको आरोप खेपिरहेका कर्ण मार्फत आर्थिक लेनदेन मिलाउने र सहसचिवहरुको सरुवा गर्न थालेकी छिन् ।
सातै प्रदेशमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालय रहने भएकाले मात्र होइन अनुगमनका क्रममा ठूला व्यापारीसँग आर्थिक असुली गर्ने बेला पनि चाडपर्वलाई लिने गरिन्छ । यही सन्दर्भ पारेर सरुवामा आर्थिक चलखेलन गर्न थालिएको हो । त्यसका लागि राज्यन्त्री चौधरीले कर्णलाई साथ लिएकी छिन् ।

कर्णलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गर्नु अघिदेखि नै उनले सहकर्मी सहसचिवहरु सरुवाको अन्तिम नामावली तयार गरेर मन्त्रालय पु¥याएका थिए । त्यसका लागि उनले राज्यमन्त्रीसँगको साँठगाँठकै भरमा आर्थिक मोलमोलाई गर्ने काम भ्याएका थिए । उनी भ्रष्टाचारको आरोपमा निलम्वनमा परेपछि सरुवाको सो फाईल कृषि सचिव डा युवकध्वज जिसीको टेवलमा पुगेको थियो ।

सचिव जिसीले कर्णले विभागबाट तयार गरी पठाएको सरुवाको नामावली आर्थिक लेनदेनका कुरा नमिलेपछि  सरुवाको नामावली नै परिवर्तन गरिदिए । परिवर्तन गरी दिएपछि केही सहसचिव रुष्ट हुँदै तात्कालिन महानिर्देशक कर्णसँग आफ्नो रकम फिर्ता मागे । तत् पश्चात सरुवामा आफूले भनेजस्तो नहुने र रकम फिर्ता गर्नु पर्ने भएपछि कर्ण भाद्र २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिहंदरबारमा पुगि राज्यमन्त्री चौधरीलाई विस्तृत जानकारी गराएर फर्किए ।

उनी फर्किए लगतै राज्यमन्त्री रामकुमारी चौधरीले कृषि सचिव डा. युवकध्वज जीसीसँग रहेको विभागका सहसचिवहरुको सरुवाको फाइल खोसेर आफ्नो नियन्त्रण लिएको मन्त्रालय श्रोतले बताएको छ ।

दशै, तिहार जस्ता पर्वका अवसरमा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले बढी भन्दा बढी समय अनुगममा हुनु पर्ने खाद्य प्रविधिका कर्मचारीहरु अख्तियारले डामेका निवर्तमान महानिर्देशक र राज्यमन्त्री चौधरीका कारण अनुगमनको कामलाई थाती राखेर सरुवाको फाइल कुरेर बसिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७६