बिहिबार, चैत्र १५, २०८०

पशु सेवा विभागको चरम लापरवाही, गाईको मासु बेच्ने प्रचार

काठमाडौं, असोज । पशुजन्य पदार्थ उत्पादनदेखि बजारीकरणसम्मको जिम्मेवारी वोकेर बसेको पशु सेवा विभागले गरेको चरम लापरवाहीका कारण यतिखेर विभाग विवादमा तानिएको छ ।
वधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासुको प्रचार प्रसारका लागि बनाएको पोष्टरमा अन्य पशुपन्छीसँग गाईको तस्वीर समेत प्रकाशन गरेपछि विभाग विवादमा तानिएको हो ।
मुलुकलाई धर्मनिरपेक्ष गरिएपनि नेपालका गाईको मासु विक्री वितरणमा अघोषित रुपमा बन्देज लगाइएको छ । ८२ प्रतिशत हिन्दू धर्मालम्वी रहेको नेपालको राष्ट्रिय जनावर गाई भएकाले पनि सरकारले गाईको काटमारमा बन्देज लगाएको छ ।
यस्तो अवस्थामा सरकारी निकाय त्यसमाथि पनि पशुपन्छी सेवाको प्रमुख सरकारी कार्यालयले गरेको चरम लापरवाहीका कारण हिन्दू धर्मालम्वीहरुमाथि नै चोट पुगेको छ ।
देशभर पठाइएको यस्तो तस्वीरले आम नागरिकमा कस्तो सन्देश प्रवाह सरकारी निकायले गरिरहेका छ भन्ने प्रश्न उब्जन थालेको छ । यो तस्वीर सार्वजनिक भएपनि पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माको कार्यशैलीमाथि नै प्रश्न उठेको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज ७, २०७६