बुधबार, बैशाख ५, २०८१

जुम्लाको स्याउले नेपालगन्जमा बजार तताउँदै

नेपालगन्ज, भाद्र । फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको यतिखेर नेपालगञ्जका बजारमा प्रशस्त पाउन थालिएको छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए ।
नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगन्जका फलफूल व्यापारीहरू अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगन्जमा दैनिक चार÷पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरू बताउँछन् ।
नेपालगन्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुट्कर बिक्रेताहरूले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताए ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७६