शनिबार, बैशाख ८, २०८१

फौजी किराले किसानलाई हैरानी

डडेल्धुरा, भाद्र । जिल्लामा एकाएक फैलिएका फौजी किराका कारण जिल्लाका किसान समस्यामा परेका छन् । पहिलो पटक जिल्लामा फैलिएको उक्त किराले मकैलगायतका अन्नबालीमा नोक्सान गर्न थालेपछि जोरायल, बडिकेदार, बोगटानफुड्सिल र केआईसिंह गाउँपालिका तथा शिखर नगरपालिका क्षेत्रका किसान चिन्तित भएका छन् । लामो खडेरी पछि लगाईएको वर्खे मकैमा पनि फौजी किराले दुःख दिन थालेकाले आफूहरू निराश भएको जोरायल गाउँपालिका वडा नं ५ का लिलाधर विष्टले बताए । उनले भने, “समयमै पानी नपर्दा समयमै मकै लगाउन पाएनौँ, पानी पर्दा लगाइएको मकैमा फौजी किराले खाएर सखाप बनाउन थालेकाले समस्या भयो ।”

फौजी किराको प्रकोपले यहाँका गाउँपालिका तथा नगरपालिका क्षेत्रका झण्डै ९०० रोपनी जमीनमा लगाइएको मकैबाली नष्ट गरेको अनुमान गरिएको छ । केआईसिंह गाउँपालिकाका किसान सेरु ऐरका अनुसार ठूलो समूहका फौजी किराले घाम लागेको बेला मकैको गुबोभित्र पसेर कलिला पात खाएर सखाप पार्ने गरेको छ । उक्त किराले मकैको गुबोका साथै कलिलो पात समेत बाँकी नराखेकाले मकैमा सुतली नआउने र घोगा नलाग्ने उनको भनाइ थियो ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला कृषि सम्पर्क कार्यालयका प्रमुख किसनसिंह थापाले यसबारे अहिलेसम्म जानकारी नभएको बताए । उनले भने, “फौजी किराले बाली नोक्सान गरेकोबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन, जानकारी आए समाधानको उपाय खोज्ने छौँ ।” कृषि प्राबिधिक मदन खड्काले भने, “फौज बनाएर बालीनालमा नोक्सान पु¥याउने भएकाले यस्को नाम फौजी किरा राखिएको हो, यसले एकै रातमा करिब एक रोपनी खेतको बाली नोक्सान गर्न सक्छ ।”

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७६