बिहिबार, बैशाख १३, २०८१

कुनै पनि हालतमा धूलो दूध आयात गर्नु हुन्न

काठमाडौं, भाद्र । बजार मूल्य चर्कंदै गएपनि दूधको मूल्य बृद्धि हुन सकेको छैन । खास गरी उपभोक्ताहरुका लागि मूल्य बृद्धि गर्नु भन्दा पनि जसले दूध उत्पादन गर्दछ ती किसानहरुका लागि दूधको मूल्य बृद्धि गर्नु आवश्यक छ । किसानहरुले लागत मूल्य नपाउनु तर डेरी उद्योगहरु मेटाउँदै जानुले पनि दूध उत्पादनका रहेका किसानहरु पलायन हुने अवस्था देखिएको छ ।
किसानहरुले उत्पादन गरेको दूधको मूल्य तीन वर्षदेखि बृद्धि नगरेका कारण आफूहरु मारमा परेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मूल्य बृद्धिको माग गरेका छन् । किसानहरुले दूधको मूल्यको माग गरेपछि त्यसका लागि दुग्ध विकास बोर्डको निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा एउटा समिति गठन भयो । र सो समितिले मूल्य बृद्धि गर्नु पर्ने प्रतिवेदन कृषि मन्त्री समक्ष पेश गरेको छ । दूधको मूल्य बृद्धि र धूलो दूध आयातका विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तसँग वैकुण्ठ भण्डारीले गरेको कुराकानीको अंश ।
0अहिले दूधको मूल्य बृद्धि हुने चर्चा आईरहेको छ नि के हो ?
खासगरी केन्द्रीय दुग्ध उत्पादन सहकारी संघले दूधको उत्पादन लागत बढी रहेकोेले किसानको राहतका लागि दूध मूल्य बृद्धि गर्ने माग सहित कृषि तथा पशुपन्छी मन्त्रालय र बोर्डमा समेत माग पत्र पेश गरेको छ । संघको मागका विषयमा मन्त्रीस्तीय निर्णयबाट श्रावण ३० गते एउटा कार्यदल निर्माण भएको छ । त्यो कार्यदल सरोकारवाला निकायका प्रतिनिधिहरुलाई समेत समावेश भएको र कार्यदलले मूल्य समायोजन गर्नु पर्ने हो कि होइन भन्ने विषयम विगत दुई वर्षदेखि दूधको मूल्य बृद्धि नभएका कारण र किसानहरुले खरिद गर्नु भएको दाना, चोक्करहरुको मूल्य बृद्धि भईरहेको परिप्रेक्ष्यमा अध्ययन गर्दा मूल्य समायोजन गर्नु पर्ने देखिएकाले सोही बमोजिमको प्रतिवेदन कार्यदलले पेश गरेको छ ।
० त्यसो भए दूधका मूल्य बृद्धि हुन्छ ?
व्यवसायिक रुपमा पशुपालन गरिरहनु भएका किसानहरु मूल्य बृद्धिका कारण मारमा पर्नु भएको छ । विजुलीदेखि पशु औषधीसम्मको मूल्य बृद्धि भईरहेको अवस्थामा किसानहरु प्रत्यक्षमा मारमा परेका कारण पनि दूधको मूल्य बृद्धि गर्नु पर्दछ भन्ने हाम्रो प्रतिवेदनमा उल्लेख गरका छौं ।
० कति बढला त मूल्य ?
बजार भाउ अन्य खाद्य पदार्थमा मूल्य बृद्धि भईरहको अवस्थामा किसानहरुले लागत मूल्य पाउनु पर्दछ भन्ने बोर्डको पनि विगतदेखि नै योजना भएका कारण सरकारले दूधमा आत्मनिर्भर हुने कुरा गरिरहेको सन्दर्भमा दूध उत्पादनमा संलग्न किसानहरुलाई फाइदा पुग्ने किसिमले मूल्य बृद्धि गर्नु पर्दछ भन्ने हाम्रो सोच हो ।
० किसानहरुले लागत मूल्य नपाईरहेको अवस्थामा कसरी दूधको उत्पादन बृद्धि गर्न सकिएला त ?
नेपाल सरकार र दूग्ध विकास बोर्डको योजना दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने सोच भएकाले पनि किसानहरुलाई दूध उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ । त्यसका लागि समय सापेक्ष रुपमा किसानहरुलाई मूल्य बृद्धि गर्न सक्ने हो भने दूध उत्पादन बढाउन सकिने र दूधको आयात प्रतिष्थापन गर्न सकिन्छ भन्नेमा हामी ढुक्क छौं ।
० कहिलेसम्म बढ्छ त दूधको मूल्य ?
हामीले प्रतिवेदन बुझाईसकेका छौं । अव त्यसमा मन्त्रालयले अध्ययन गरेर छिटो भन्दा छिटो दूधको मूल्य समायोजन गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।
० दूधको मूल्य किसानहरुले नपाईरहेकै अवस्थामा त भारतबाट धूलो दूध ल्याउने खेल भएको छ भने दूध मूल्य बृद्धि गर्दा धूलो दुधले आयात गर्न ठाउँ पाउला नि त ?
खास गरी भन्ने हो भने अहिले दूध उत्पादन कम हुने समय हो । विगतमा बोर्डले नै किसानहरुले उत्पादन गरेको दूधमा मिल्क होलिडे गर्नु हँुदैन । दूधको बजारको ग्यारेण्टी गर्नु पर्दछ साथै सवै उद्योगीहरुले दुध खरिद गर्नु पर्दछ भन्ने सहमति भएको हो । किसानहरुले धेरै दूध उत्पादन गरेका समयमा देश भएका तीनवटा धूलो दूध कारखानाहरुलाई सञ्चालन गर्ने र ती उद्योगहरु सञ्चालन गर्नका लागि सरकारले सहयोग गर्ने विषयमा सवै सरोकारवाला समेत राखेर सहमति गरिएको थियो । त्यसकै कारण नेपालमा मिल्क होलिडे भएन र सरकारले रोकेको हो । अव अहिले नेपालमा कारखानासँग धूलो दूध नभएको अवस्थाका कारण भारतबाट धूलो दूध ल्याउने चर्चा भएको हो । दूध उत्पादन कमी हुनु र धूलो दूधको पनि अभाव भएका कारण प्रति दिन सवा लाख लिटर दूध अभाव देखिन्छ ।
० दूध उत्पादन भएन नेपाली कारखानासँग पनि धूलो दूध छैन त्यसो भारतबाट धूलो दूध ल्याउँ भन्ने कुरा हो ?
त्यसो पनि होइन । हामीले धूलो दूध ल्याउनु पर्दछ भनेर भनेकै छैन । तर दूध उत्पादन कसरी बृद्धि गर्न सकिन्छ भन्नेमा नै लागेका छौं । तर अहिले बजारमा दूध पठाउनका लागि अभाव भएको भन्ने गुनासो गरिरहेको अवस्था छ । सुन्नमा आए अनुसार दुग्ध विकास संस्थानले नै ८० हजार लिटर दूध बजारमा कम पठाएको भनेको छ । अहिले संस्थानसँग पनि धूलो दूध नभएकाले समस्या पर्ने हो कि भन्ने शंका उव्जिएको भने छ । धूलो दूध तरल दूधका लागि मात्र भन्दा पनि अन्य प्रयोजनहरु विस्कुट उत्पादनदेखि दहि, पनिर आईसक्रिम बनाउनका लागि पनि आवश्यक पर्दछ । तर दूध आयात गर्न दिने भनेर मिल्क होलिडे हुने गरी आयात गर्नु दिनु हुँदैन । निश्चित परिमाण कति आवश्यक हो त्यत्ति नै ल्याउन दिने भन्ने हो । अहिले सरकारले आयात रोकिरहेकाले धूलो दूध आयात रोक्नु पर्दछ भन्ने हाम्रो मान्यता हो ।
गत वर्षको पशु सेवा विभागको तथ्यांक हेर्ने हो भने २२ लाख १२ हजार ५ सय मेट्रिक टन दूध आवश्यक पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति व्यक्ति प्रति वर्ष ९१ लिटर दूध आवश्यक पर्दछ । यो तथ्यांक अनुसार हामीलाई दूध पुग्दैन । दुई वर्ष भित्र हामी आत्मनिर्भर हुने लक्ष्य लिएका छौं । त्यसका लागि गतवर्ष हामीले ६.६ प्रतिशतले दूधको उत्पादन बृद्धि गर्न सफल भएका छौं । यसमा थोरै मात्र बढाउन सक्यौ भने हामी दुई वर्षमा आत्मनिर्भर बन्न सक्छौं ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७६