शुक्रबार, चैत्र १६, २०८०

धूलो दूधमा लोभी पापीको दृष्टि पर्दा किसान मारमा

काठमाडौं, साउन । नेपालका दूध उत्पादन गर्ने किसानहरु लागत मूल्य नपाएर दूध सडकमा पोख्छन् । डेरीका साहुहरुले किसानहरुलाई दूधको भुक्तानी दिन यो हप्ता र त्यो हप्ता वा महिना नै कुराउँछन् । निजी डेरीका साहुले त त्यसो गरे ठिकै छ । सरकारी संस्थान दुग्घ विकास संस्थानले पनि त्यसै गरी महिनौ किसानको रकम भुक्तानी दिँदैन ।
चितनवलाई दूधको प्रमुख उत्पादन केन्द्र मानिन्छ । त्यस्तै पूर्वमा इलाम पनि दूधका लागि प्रख्यात नै कमाएको जिल्ला हो । उपत्यका छेउछाउ हेर्ने हो भने पनि काभ्रे, दोलखा जिल्लामा पनि राम्रै दूध उत्पादन भएको तथ्यांकले देखाउँछ । तर सवैतिरका किसानहरुको एउटै गुनासो देखिन्छ दूधको लागत मूल्य पाईएन । हुन पनि किसानहरुले चर्को मूल्यमा दाना खरिद गरेर दाना कै भरमा पशुपालन गर्छु र दूध विक्री गरेर कमाउँछु भन्ने हो भने त्यो गलत हुनेछ । एकातिर चरनको अभावका वीच गाईबस्तु पाल्नु पर्ने अवस्था र अर्कोतिर लागत मूल्य नपाउनु त्यसमा पनि डेरीहरुले महिनौसम्म रकम नदिनु यो भन्दा बढी अन्याय के होला र ?
तर अहिले चर्चा गर्न खोजिएको विषय भनेको धूलो दूध भारतबाट आयात गर्नका लागि निजी डेरीहरुले कृषि मन्त्रीसम्म पुगेर गरेका लविङ्ग । डेरी उद्योगी फाइदा कमाउन आएका हुन् । फाइदा कमाउन आएका हुन् भन्दैमा नेपाली दूध उत्पादनमा सक्रिय रहेका किसानहरुलाई रकम नदिने, लामो समयसम्म उधारो राख्ने अनि फेरि भारतबाट गुणस्तरहीन धूलो दूध ल्याएर उपभोक्ताहरुलाई विक्री गरी नाफा आर्जन गर्ने मात्र हो भने त्यस्ता डेरी उद्योग बन्द गरिदिए हुन्छ । टोल टोलमा साना लगानीका खुल्ला डेरी सञ्चालकहरुले नै तोकिएकै समयमा किसानलाई दूधको भुक्तानी गरिरहेका छन् । लोभीपापीको दृष्टिमा अहिले घूलो दूध परेको छ । भारतबाट सस्तोमा धूलो दूध ल्याउने र नेपाली किसानबाट अझै सस्तोमा दूध खरिद गर्ने प्रपञ्च हो । जसले नेपाली किसानहरु पलायन हुने अवस्थामा छन् । सरकारले निजी डेरीहरुको धूलो दूध आयात गर्ने मागलाई कुनै हालतमा पनि सम्वोधन गर्नु हुँदैन । धूलो दुध यो वा त्यो नाममा आयात गर्न प्रतिवन्ध नै लगाउनु पर्दछ ।

प्रकाशित मिति: आइतवार, साउन २६, २०७६