बिहिबार, चैत्र १५, २०८०

भारतबाट १८ लाख लिटर दूध ल्याउने तयारी

काठमाडौं, साउन । नेपाली दुग्ध उत्पादन क्षेत्रमा लागेका किसानहरुलाई विस्थापित गर्ने गरी भारतको पटनाबाट दुध ल्याउने खेल शुरु भएको छ । दुई वर्ष अघि पनि दुग्ध विकास संस्थानले भारतबाट दूध ल्याउने योजना बनाएको थियो भने धूलो दूध खरिद गर्ने तयारी गरिरहँदा चर्को विवाद शुरु भएको थियो । चर्को विवाद पश्चात साविकको पशुपन्छी विकास मन्त्रीले दूध ल्याउन रोक्ने भनेका थिए । तर यतिखेर फेरि भारतबाट दुध ल्याउने तयारी गरिहेको छ ।
दूधको अभाव भएको भन्दै दुग्ध विकास संस्थानले दैनिक ३० हजार लिटर दूध ल्याउने गरी सम्झौता गर्न लागेको छ । नेपालका किसानहरुबाट खरिद गर्नु भन्दा भारतबाट दूध खरिद गरेर ल्याउँदा सस्तो पर्ने भएकाले विगतदेखि यो वा त्यो नाममा दूध ल्याउने गरिएको थियो । पटना डेरीसँग धूलो दूध आयात गर्ने क्रममा दुग्ध विकास संस्थानका तात्कालिन महानिर्देशकहरुले ठूलै आर्थिक लाभ पनि लिएका थिए । अहिले फेरि त्यही कुरा दोहोरिँदै छ । सिमित व्यक्तिहरुलाई आर्थिक लाभ हुने तर हजारौ किसानहरु मारमा पर्ने गरी ल्याउन लागिएको दूध कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले तत्काल रोक्नु जरुरी देखिन्छ ।
नेपालमा दूधलाई आत्मनिर्भर बनाउने लक्ष्य असफल जस्तै बनिसकेको छ । एकातिर नेपाली किसानहरुलाई दूध उत्पादन तर्फ प्रोत्साहित गरेको जस्तो गर्ने अर्कोतिर नेपाली किसानहरुसँग खरिद गर्नु भन्दा भारतबाट आयात गर्ने सरकारी कामले नेपाल फेरि दूधमा परनिर्भर भईसकेको छ ।
दूधका लागि प्रमुख हवका रुपमा रहेको चितवन, रुपन्देही, नवलपरासी, इलाम लगायतका जिल्लाहरुका व्यवसायिक दुग्ध उत्पादन किसानहरु विस्तारै पलायन हुँदै छन् । जसबाट राज्यलाई अवौंको क्षति भईरहेको छ भने सोही मात्रामा रकम विदेशिएको छ ।
दुग्ध विकास संस्थानका अनुसार काठमाडौंमा अहिले दैनिक ३० हजार लिटर दूध अपुग भएकोले भारतबाट ल्याउन खोजिएको छ । यदि दूध ल्याउने विषयमा सरकार सहमत भएमा दुई महिना १८ लाख लिटर दूध भारतबाट काठमाडौं आईपुग्ने छ ।
दुग्ध विकास संस्थानले दिएको जानकारी अनुसार नै भन्ने हो भने पनि भारतबाट दूध काठमाडौं ल्याइपु¥याउँदा प्रति लिटर ५७ लिटरका दरले १० करोड २६ लाखको दूध ल्याउने प्रपञ्च गरिएको छ । काठमाडौंमा दूध अभावको बहाना बनाएर यसरी दूध ल्याउनु किसान र मुलुकका लागि समेत घातक सिद्ध छ । होला, भारतबाट दुध आयात गर्दा केही व्यक्तिले काठमाडौंमा घरजग्गा जोड्लान तर आम नेपाली किसान भने प्रत्यक्ष मारमा पर्ने छन् ।
भारतबाट दूध ल्याउने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा सहमत हुनु हुँदैन । दुग्ध विकास संस्थान र केही निजी डेरीका माफियाहरुले भारतबाट ल्याउँदा ५७ रुपैयाँ प्रतिलिटर र इलामबाट ल्याउँदा ६४ रुपैयाँ पर्ने भएकाले घाटा देखाएर किसान मार्ने काम गरिरहेका छन् । यदि काठमाडौंका लागि आवश्यक हो भने काभ्रे, चितवनबाट मात्र दूध ल्याउने हो भने पनि पुग्छ । तर यतिखेर चितवनका किसानहरुलाई महिानै देखि दूधको रकम दुग्ध विकास संस्थानले गरेको छैन । किसानलाई रकम भुक्तानी गर्न आलटाल गरिरहेको संस्थानले भारतबाट दूध ल्याउन खोज्नु किसानमारा प्रबृत्ति बाहेक अरु केही पनि होइन ।

प्रकाशित मिति: मङ्लबार, साउन २१, २०७६