शुक्रबार, बैशाख ७, २०८१

रासायनिक मल खरिदको ६१ करोड रुपैयाँ फ्रिज

काठमाडौं, श्रावण । मुलुकको मुख्य बालीका रुपमा रहेको धानबाली लगाउने बेलामा किसानहरु रासायनिक मल अभावका कारण तड्पिरहेका छन् । मलको सहज आपूर्ति सरकारले गर्न नसक्दा किसानहरु यो वर्ष धान उत्पादन घट्ने भन्दै चिन्तित देखिएका छन् । हुन त हरेक वर्ष किसानहरु मल अभावका कारण यस्तै तड्पाईमा रहने गरेका छन् । यद्यपी सरोकारवाला निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको असक्षम नेतृत्वका कारण किसानहरुले प्रत्येक वर्ष समस्या झेल्नु परिरहेको छ ।
आर्थिक वर्ष २०७५÷७६ का लागि रासायनिक मल खरिदका लागि छुट्याइएको बजेट मध्ये ६१ करोड रुपैयाँ फ्रिज गराईयो । जिटुटी मार्फत रासायनिक मल आयात गर्ने भन्दै किसानहरुलाई झुक्याउनुसम्म झुक्याउने काम भयो । सवैभन्दा बढी रासायनिक मल आवश्यक पर्ने जेठ आषाढ महिनामा किसानहरुले मल नै पाउन सकेनन् । तर ६१ करोड रुपैयाँ फ्रिज हुनु तर रासायनिक मल अभाव हुनु भनेको व्यापारीहरुसँग मिलेमतोमा मलको कृत्रिम अभाव सृजना गराएर बढी रकम असुल्ने र बाँढीचुँढी खाने काम बाहेक केही भएको कृषि विकास मन्त्रालय निकटस्थ कर्मचारीहरु नै बताउँछन् ।
‘कृषि विकास मन्त्रालयका कर्मचारीहरु जो प्रशासन बाहेक सवै प्राविधिकहरु नै छन् । कुन बेला कति रासायनिक मल चाहिन्छ भन्ने थाहा छैन ।’ उनको आक्रोश पनि थियो । रासायनिक मलको मुख्य तालुकदार निकायका रुपमा रहेको कृषि मन्त्रालय मातहत कै कृषि सामग्री कम्पनीले मल खरिद गर्नका लागि प्रयास गरेको बताएपनि मन्त्रालयले गर्ने ढिलाईका कारण आफूहरुले मल भित्र्याउन नसकेको बताएको छ ।
कम्पनीका अनुसार जवसम्म मन्त्रालयले ठोस निर्णय सहित निर्देशन दिन सक्दैन तवसम्म कम्पनीले चाहेर पनि मल खरिद गर्न सक्दैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको असक्षमताकै कारण ६१ करोड फ्रिज मात्र भएन किसानहरु समस्यामा परेका छन् । रासायनिक मलको अभाव र ६१ करोड रुपैयाँ फ्रिज भएको सम्वन्धमा मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले मल नपाएकै कारण ६१ करोड फ्रिज भएको सहज जवाफ दिए । ‘मल खरिद गर्न पाएको भए त हामी किनिहाल्थ्यौ नि’, उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६