शुक्रबार, बैशाख ७, २०८१

भारतबाट आउने तरकारी विषादी परिक्षणमा कृषि मन्त्री वेखवर !

काठमाडौं, असार । भारतबाट तरकारी आयात गर्नका लागि नाकामा विषादी परिक्षण गरेर मात्र नेपाल भित्रँने दिने निर्णय भयो । तर भारतीय नाकाबाट तरकारीमा प्रयोग भएको विषादीको मात्रा परिक्षण गर्नु पर्ने जिम्मेवार निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व लिईरहेका कृषि मन्त्री त्यसबारे वेखवर जस्तै थिए । जव सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरे तव मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी पायो ।
सरकारी निकायहरु एक र अर्को निकायसँग समन्वय हुँदैन हुँदैन भन्ने यो एउटा उदाहरण पनि हो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार नाकामा परिपत्र गरेको भन्दै भारतबाट आयात गरिएका तरकारीका ट्रक रोकियो । तर कृषि मन्त्रीलाई त्यसबारे कसैले पनि जानकारी दिन खोजेनन् र त मन्त्री बेखवर जस्तै भए ।
बाणिज्य मन्त्रालयले सरोकारवाला मन्त्रालय कृषि मन्त्रालयलाई पूर्ण रुपमा पाखा लगाउँदै विषादी परिक्षणका नाममा राम्रै राजनीति गर्न प्रयास गरेको देखिन्छ । हुन त यतिखेर कृषि मन्त्री चक्रपाणीलाई असफल मन्त्रीका रुपमा देखाईदिने र कृषि मन्त्री अर्को ल्याउने खेल पनि भईरहेको छ । यही मेलोमा यो प्रसंग पनि जोडिएको छ । यस अघि पनि कालीमाटी तरकारी बजारमा उद्योग मन्त्री मातृका यादवले गरेको अनुगमनले नै पुष्टि गरेको पनि छ ।
नाकामा विषादी परिक्षण गरेर मात्र तरकारी आयात गर्न दिने भन्ने निर्णय कसले गरायो ? नेपालका नाकामा त्यस्तो प्रविधि र प्राविधिक छन् कि छैनन् सरोकारवालासँग छलफल किन गरिएन ? हो सरकारका असफलता यी र यस्तै चीजले गर्दै आएका छन् । विषादी परीक्षण कसले गर्दछ उद्योग मन्त्रालयलाई थाहा छ ? पक्कै पनि छैन । सायद कृषि मन्त्री चक्रपाणी खनाल पनि यसबारे अनविज्ञ छन् । कारण उनलाई पनि झक्याइएको छ आफ्नै मन्त्रालय भित्रबाट ।
भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा कति छ भन्ने परिक्षण गर्नु पर्ने निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको साविकको बाली संरक्षण निर्देशनालय हाल प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको काम हो ।
तर विडम्वना अहिले विषादी चेकजाँच गर्ने जिम्मेवारीबाट हटाइएको छ प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रलाई । कृषि सचिव डा युवकध्वज जीसीले बाली संरक्षण निर्देशनालयले गर्नु पर्ने विषादी परिक्षणको काम एकल निर्णयबाट केन्द्रीय प्रयोगशालालाई दिएका छन् । सायद कृषि तथा पशुपन्छी विकास मन्त्रालयका धेरै उच्च अधिकारी समेत यो विषयमा अनभिज्ञ छन् ।
माटो परिक्षण गर्ने प्रमुख जिम्मेवारी रहेको केन्द्रीय प्रयोगशालालाई विषादी चेकजाँच गर्ने जिम्मेवारी सचिव युवकध्वज जिसीले कुन कानूनलाई टेकेर दिए ? के सो प्रयोशालामा विषादी चेकजाँच गर्ने प्राविधिक कर्मचारीको दरवन्दी छ ? छैन । त्यसो हो भने विषादी, रोगकीरा लगायतका काम गर्ने उदेश्यले खडा भएको कार्यालयलाई दिएको जिम्मेवारीबाट हटाउने सचिव जीसीलाई के हुन्छ ? यसको मतलव कृषि मन्त्री चक्रपाणी खनाललाई जसरी हुन्छ असफल बनाउने भन्ने नियत सचिव जिसीको हो भन्दा के फरक पर्ला र ? अहिले सरकारले कालीमाटी तरकारी बजारको वा कुनै पनि शहरमा विक्रीका लागि राखिएको तरकारीमा विषादी भए नभएको परीक्षण गर्ने जिम्मेवारी दियो भने त्यस्तो निकाय नै छैन । अहिले जिम्मेवारी पाएको केन्द्रीय प्रयोगशाला न त त्यस्ता प्रविधि छन् न त प्राविधिक नै ।
अहिले कृषि सचिवको लहडका कारण नै यो विवाद पनि जोडिएको छ । उचित व्यक्ति उचित स्थानमा नहुँदा र कार्यालयलाई दिएको जिम्मेवारी व्यक्तिगत रिसवीका कारण परिवर्तन गर्दा मुलुकले निकै नै घाटा व्यहोर्नु पर्दछ । मन्त्री खनालले आफ्नै सचिवबाट धोका पाईरहेको छन् विषादी परिक्षणका कै विषयमा । सायद उनी अझै पनि बेखवर छन् ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६