मङ्लबार, बैशाख ४, २०८१

कास्कीको तरकारी सुपरजोनले निर्माण गरेको प्लाष्टिक घरमा कमिशनको गन्ध

कास्की, असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत विभिन्न जिल्लाहरुमा सञ्चालनमा आएका सुपर जोन, जोन, पकेट र व्लकहरुमा हुने गरेको भ्रष्टाचार क्रमश सार्वजनिक हुन थालेका छ । आयोजना मार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मार्फत खरिद गरिएको प्रयोशाला भ्यानमा गरिएको करोडौंको भ्रष्टाचारमा विभागका महानिर्देशक सञ्जीव कर्ण सहित पाँच जना र आयोजनाका प्रमुख लक्ष्मण पौडेल सहित ७ र सप्लायर्स समेत गरी १३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करीव ५२ करोड भन्दा बढी विगो सहित असुल उपर गर्ने गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोजनाको मुख्य कार्यालयको यो भ्रष्टाचारको घटना सेलाउन नपाउँदै आयोजना मातहत कै कास्की तरकारी सुपरजोन कार्यालयले प्लाष्टिक घर निर्माण गर्न दिएको ठेकेदारले कार्यविधि र मापदण्ड विपरित बनाउँदा पनि वेवास्ता गरेको छ । उल्टै भुक्तानी दिन कार्यालयका उच्च अधिकारीहरु हतारिएका छन् ।
प्लाष्टिक घर बनाउने जिम्मा पाएको ज्योति एग्रोलाई गुणस्तरहीन काम सम्पन्न गर्नु अघि नै भुक्तानी दिन लागिएको हो । असारे योजना जस्तै गरी सुपरजोन कार्यालयले भुक्तानी उपलब्ध गराउन हतार गरेकोछ । विशेष गरी कमिशनका कारण प्लाष्टिक घर कार्यविधी विपरित नै काम लगाइएको देखिन्छ ।
कृषि अनलाईनलाई प्राप्त प्रमाणहरुलाई हेर्ने हो भने तरकारी सुपरजोनले कार्यविधिमा उल्लेख भए बमोजिम प्लाष्टिक घर निर्माण नगरेको ज्योति एग्रोलाई कार्वाही गर्नुको साटो भुक्तानीको हतार गर्नुलाई के भन्ने ? हुन पनि सो कम्पनीले तरकारी सुपरजोन कार्यालयको प्लाष्टिक घर निर्माणका क्रममा प्रयोग गरेको जिआई पाईपदेखि प्लाष्टिकसम्म सम्झौतामा उल्लेख गरिएको मापदण्ड विपरित छ ।
सरकारी अनुदान रकममा निर्माण गरिएको सो प्लाष्टिक घरका नाममा गरिएको आर्थिक चलेखल सम्वन्धित मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गर्नु आवश्यक छ ।

प्रकाशित मिति: बिहिबार, असार १२, २०७६