शुक्रबार, बैशाख ७, २०८१

कृषिमा हाईटेक हो कि हावाटेक : कमिशनले बनेको ग्रिनहाउस भत्केको भत्कै

काठमाडौं, जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान सहयोगमा विभिन्न जिल्लामा निर्माण गरिएका हाईटेक भनिएका प्लाष्टिक घरहरु एक वर्षपनि वित्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेका छन् । सानातिना हावाहुरीले पनि भत्काउने संरचना बनाएर करोडौं हुसुर्नेहरुका कारण यो प्रविधिमाथि नै प्रश्न उठ्न थालेको छ ।
कास्की जिल्लाको पोखरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनको अनुदानमा बनाइएको हाईटे भनिएको ग्रिनहाउट पटक पटक भत्केको भत्कै भएपछि यसलाई धेरैले हाईटेक होइन हावाटेक भन्न थालेका छन् ।
केही समय अगाडि मकवानपुर सरकारी अनुदानमा निर्माण गरिएका हाईटेक भनिएका प्लाष्टिक घरहरुले असिना पनि थेग्न नसकेर भत्किएको घटनाहरु ताजै छन् । किसानहरुलाई अनुदान, व्यापारीलाई बढी भन्दा बढी फाइदा अनि अनुदान दिने सरकारी निकायका उच्च अधिकारीहरु कमिशनका लोभमा परेकै कारण पोखरामा निर्माण गरिएको हाईटेक प्लाष्टिक घर एक वर्षमा तीन पटक भत्किसकेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी सुपर जोनको अनुदान रकममा करोडौं खर्चेर नेपाल थोंपा सिंचाईले बनाएको सो हाईटेक भनिएको प्लाष्टिक घरको प्लाष्टिक हावाले उडाउनु त स्वाभाविकै होला तर हावाकै कारण ‘स्ट्रक्चर’ बनेको बाङ्गिएको छ ।
पोखरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बनाउको सो प्लाष्टिक घरलाई हाइटेक ग्रिनहाउस भनिने गरिन्छ । तर वास्तविक रुपमा सो संरचना हाईटेक(उच्च प्रविधियुक्त) भन्दा पनि आधुनिक प्लाष्टिक घर हो । ठेकेदार कम्पनी र परियोजनाका कर्मचारीको मिलेमतोमा बनाइएको यसता धेरै संरचनाहरु केवल आँखा छल्ने कामका रुपमा देखिएका छन् ।
व्यवसायिक किसानहरुले अनुदानमा बनाएका यस्ता प्लाष्टिक घरहरु हावा हुरीले नै ध्वस्त हुने किसिमले निर्माण हुनु कति गुणस्तरीय सामग्री प्रयोग गरिएको छ भन्ने कुराको पुष्टि गर्दछ । हो प्लाष्टिक घर निर्माण भने प्लाष्टिकको पोको मात्र होला हावा उडाउँछ तर संरचना नै हावाहुरीले ध्वस्त हुनु भनेको के हो ?
पोखरामा मात्र होइन केही दिन अगाडि आएको कैलाली, कञ्चनपुरमा आएको हावाहुरीले सो क्षेत्रमा पनि त्यस्तै वितण्डा मच्चाएको छ । जसमा अनुदानका यस्तो हाईटेक भनिएका प्लाष्टिक घर ध्वस्त भएका छन् । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका कार्यालयले अनुदानमा उपलब्ध गराएका वा बनाएका यस्ता प्लाष्टिक घरहरुलाई हाईटेक भन्दा पनि हावाटेक भन्नेहरुकै मत बढी देखिन थालेको छ । सरकारी अनुदान खाएर रातारात धनी बन्ने खोज्ने यस्तो प्रबृत्तिले व्यापारी र कर्मचारीलाई त फाइदा पुग्ला तर किसानहरुको अवस्था के होला ?

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६