बिहिबार, बैशाख ६, २०८१

कृषि सचिव भन्छन् अनुदानमा दुरुपयोग भयो, तर खै त रोक्ने प्रयास ?

काठमाडौं, जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले कृषि क्षेत्रमा प्रवाह भएको अनुदान दुरुपयोग भएको स्वीकार गरिरहँदा त्यसलाई रोक्न काम भने गरेका छैनन । चालु आर्थिक वर्षमा पनि १ प्रतिशतदेखि शतप्रतिशतसम्म कृषि क्षेत्रमा अनुदान प्रवाह गरेको भएपनि कृषि क्षेत्रको विकास भने हुन सकेको छैन ।
मन्त्रालयले गरेको अध्ययन अनुसार कृषिमा गरिएको अनुदान अत्यधिक दुरुपयोग भएको पाइएको सचिव जीसीले स्वीकार गरेका छन् । कृषिमा दिएको अनुदान दुरुपयोग भएको भन्दै अव अनुदान प्रवाहलाई परिमार्जन गरी वैकिङ्ग प्रणालीबाट अनुदान दिने तयारी गरिरहेको पनि उनले पटक पटक बताउँदै आईरहेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतबाट कृषिका विभिन्न क्षेत्रमा प्रदान गरिने अनुदानको औचित्य नै देखिएको छैन । हालसम्म वितरण गरिएका अनुदान बालुवामा पानी सरह भएका छन् । मन्त्रालय मातहत विगतमा सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनादेखि हाल सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्मले दिएका अनुदान रकम दुरुपयोग भईरहेका छन् ।
कृषि सचिव जीसीले भने अनुरुप अनुदानमा दिईने रकम त्यसलाई चाहे वैकिङ्ग प्रणालीबाट वितरण गरियोस् चाहे चेक उपलब्ध गराएर गरियोस दुरुपयोग हुन छाड्ने अवस्था छैन । जवसम्म अनुदान वितरणका हरेक अंगमा कमिशनको चक्कर रहिरहन्छ तवसम्म अनुदानको औचित्य रहँदैन ।
त्यसो त कृषिमा दिएको अुनदान रकम दुरुपयोग भईरहेको स्वीकार गर्ने सचिव जीसीले दुरुपयोग रोक्न के प्रयास गरे त ? अनि अनुदान वितरण गर्ने ठाउँमा भएका भ्रष्टाचार रोक्ने प्रयास किन गरेनन् ? केही दिन अगाडि मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनका कर्मचारीलाई अख्तियारले पक्राउ गरी मद्दा दायर गरिसकेको छ । यो अवस्थामा अनुदान दुरुपयोग भयो भन्ने कि कार्वाहीका उदाहरण पनि पेश गर्ने ?

प्रकाशित मिति: सोमवार, जेष्ठ १३, २०७६