शनिबार, बैशाख ८, २०८१

अवैध भेटेरिनरी पसललाई कार्वाही शुरु, अवैध भेट फर्माका सञ्चालक फरार

 

काठमाडौं । सरकारी लेटरहेड र छाप किर्ते गरी भेटेरिनरी औषधि पसल (भेट फर्मा) सञ्चालन गर्दै आएका व्यवसायी अहिले फरार हुन थालेका छन् । किर्ते(नक्कली) काजगात तयार गरी त्यसकै आधारमा व्यवसाय गर्दै आएकाहरु माथि औषधि व्यवस्था विभागसँगको समन्वयनमा प्रहरीले कारवाही सुरु गरेपछि उनीहरु फरार हुन थालेका हुन् ।
औषधि व्यवस्था विभागले काठमाडौं, पोखरा, बुटवल र नारायणगढमा सञ्चालित पसलमाथि अनुगम गर्दा अवैध तवरले व्यवसाय गर्ने पसलहरु फेला परेको थियो । विभागले गरेको अनुगमनमा तीन सयभन्दा बढी भेटेरिनरी औषधि पसल अवैध रुपमा सञ्चालनमा रहेको पाइएको थियो ।
ती मध्ये हाल १८ अवैध व्यवसायी फरार रहेको जानकारी प्राप्त भएको छ । फरार रहेकामा अधिकांश रुपन्देही जिल्लाका छन् । अवैध रुपमा भेटेरिनरी औषधि पसल सञ्चालन गर्ने व्यवसासीलाई कारवाही गर्न औषधि व्यवस्था विभागबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एक महिनाअघि नै पत्र आएको डिएसपी धर्मराज भण्डारीले बताए । ‘ विभागले रुपन्देही जिल्लाका सात व्यवसायीलाई पत्रअनुसार कारवाही प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘ग्रामीण पशु स्वास्थ्य तालिम र वैध कागजात नभएकाहरुलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया जारी रहेको छ ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले अहिले बजार अनुगमन बढाइरहेको बताएका छन् । ‘विगतमा बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसकेकै हो,’ उनले भने, ‘अनुगमन नियमित र व्यवस्थित गर्दै लगेका छौं, अवैध व्यवसाय गर्नेलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया चलिरहेको छ ।
किर्ते कागजातका आधारमा व्यवसाय गर्नेलाई प्रहरीसँगको समन्वयमा कारवाहीको दायरामा ल्याउँदै छौं ।’ उनका अनुसार हाल बजारमा किर्ते कागजका आधारमा व्यवसाय गर्ने, अनुमति नै नलिई प्रतिबन्धित भेटेरिनरी औषधि आयात र प्रयोग गर्ने, पसल एक ठाउँमा राखेर स्टोर अर्कै ठाउँमा गर्ने, विल अर्कै ठाउँमा काट्ने जस्ता अवैध काम भेटेरिनरी औषधि व्यवसाय क्षेत्रमा देखिएको छ ।
वैध र अवैध व्यवसायी छुट्याएर अवैधलाई कारवाही अघि बढाउन पशु सेवा विभाग लगायत सबै निकायको समन्वय हुनुपर्ने ढकालले बताए । पुशुसेवा विभागको गैरजिम्मेवारी वैध रुपमा दर्ता भएर वर्षौंदेखि चलिरहेका पसल औषधि व्यवस्था विभागमा नविकरण गर्न पशु सेवा विभागले वैध रहेको प्रमाणित गरी सिफारिस दिनु पर्ने व्यवस्था छ । खास गरी तालिम लिएका भेटेरिनरी प्राविधिकले मात्र भेट फर्मा खोल्न पाउने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा औषधी व्यावस्थ्या विभागले सो भेट फर्मा सञ्चालकले भेटेरिनरी तालिम लिएको छ÷छैन भन्ने प्रमाणित गरी वैध भएको सिफारीस नवीकरणका लागि दिनुपर्ने हुन्छ । तर, पशु सेवा विभागले पुराना तथा नयाँ कुनै पनि व्यवसायीको दर्ता ‘रेकर्ड’ आफूसँग नभएको भन्ने गैरजिम्मेवारी पूर्ण जवाफ दिइरहेको छ ।
संघकै पदाधिकारीको मिलेमतोमा किर्ते कागजात किर्ते कागजात बनाई भेटेरिनरी पसल दर्ता गर्ने काममा नेपाल पशुपन्छी औषधि व्यावसायी संघकै उच्च नेतृत्व संलग्न भएको पुष्टिसमेत भएको छ ।
संघको नेतृत्वले ‘मोटो रकम’ लिएर संघकै लेटरहेडमा नक्कली कागज सक्कली भनी गरेको सिफारिस पत्र फेला परेको छ । संघकै उच्च पदाधिकारीले हस्ताक्षर गरी किर्ते कागजातलाई सक्कली प्रमाणित गरेको देखिएको छ । दर्ता नै नभएको पसलको नाममा नेपाल पशुपन्छी औषधि व्यावसायी संघले सदस्यता शुल्क भनी काटेको नगदी रसिदमा आम्दानी वापत ५० हजार रुपैयाँसमेत जनाइएको छ । नाम नबताउने शर्तमा केही व्यवसायीले भनेका छन्– ‘संस्थाका पदाधिकारीले नागरिकता र फोटो दिनुहोस्, हामी पसल दर्ता गराइ दिन्छौं भनेर किर्ते काम सुरु गरेका थिए ।’ सरकारले अनुसन्धान गर्न थालेपछि किर्ते गर्नेहरुको पोल खुल्न थालेको हो ।
को को छन् फरार व्यवसायी ?
१. विष्णुप्रसाद घिमिरे –पटाती भेट फर्मा, रुपन्देहीे
२. श्यामकला न्यापानै काफल्े –सार्थक भेट फर्मा,सुद्धोधन गाउँपालिका फस्राटिक
३.प्रदीप घिमिरे –कायश्थ भट फर्मा, भैरहवा
४. बुद्ध घिमिरे –ओमेगा भेट फर्मा, मणिग्राम
५.वर्षा थापा –बाँसगढी भेटफर्मा, बाँसगढी रुपन्देही
६. दुर्गा खडका –गाउँसहर भेट फर्मा, सुद्धोधन गाउँपालिका
७. सूर्य उपाध्याय –पूर्णिमा भट फर्मा, देवदह १० रुपन्देहीे
८. सुबास बन्जाडे– सुबास भेट फर्मा, अर्घाखाँचीे
९. कृष्ण भुसाल –कृष्ण भेट सेन्टर, कपिलवस्तु
१०. माधवप्रसाद आचार्य –अर्पण भट फर्मा, कपिलवस्तु, खैरेनिपुर
११. जुना घिमिरे –सिद्धधारा भेट फर्मा, रामापुर रुपन्दहीे
१२. झविन्द्रप्रसाद बेलबासे –उषा भेट सेन्टर, इमलिया कपिलबस्तु
१३. हिमा बेलबो – एचबि भेट फर्मा रुपन्देहीे
१४. रुदनाथ आचार्य –बुटवल भेट फर्मा, बुटवल
१५. शिल अर्याल –केश भेटरिनरी फर्मा, बुटवल
१६. हरिप्रसाद चापागाइँ –हरि भेट सेन्टर, सुनवल नवलपरासी
१७. लक्ष्मण थारु –कृषक भटेरिनेरी फर्मा, वर्दघाट नवलपरासी
१८. हरि पोखरेल –पोखेरेल भट फर्मा, कपिलवस्तु
२५ देखि ५० हजार रुपैयाँमा किर्ते कागज र छाप
कार्यालय सचिव हुमागाँईले सरकारी लेटरहेड स्क्यान गरी दुरुस्त नक्कली लेटरहेड र किर्ते छाप तयार गरिदिए बापत व्यावसायीसँग २५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिएको सार्वजनिक भएसँगै संघको बेइज्यत गरेको भन्दै पूर्व अध्यक्ष प्रजापति बास्तोलाले छानविन गर्न माग गरेको समेत भेट टाईमसलाई प्राप्त संघ बैठकको अडियो रेकर्डमा सुन्न सकिन्छ । अवैध कार्यलाई नियन्त्रण गर्न नसकेको भन्दै पदाधिकारीले संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङको राजिनामा समेत मागेका छन् । यद्यपि भेट टाइम्सको ज्ञिजासामा हुमाँगाईले यस्तो काम आफुले नगरेको बताउदै सत्य तथ्य पत्ता लगाईदिन भेट टाइम्सलाई आग्रह गरेका छन ।
चेपुवामा पुराना वैध व्यवसायी
देशभर अवैध भेटेनरी औषधि पसल गर्ने व्यवसायीको विगविगि बढेपछि वैध रुपमा व्यवसाय गर्दै आएका पूराना व्यवसायी समेत समस्यामा परेका छन् । एउटा विभाग(औषधि)ले वैधताको सिफारिस मागेको छ । अर्को विभाग (पशुसेवा) ले औषधि पसल सञ्चालन गर्नेहरुले तालिम लिए÷नलिएको रेकर्ड नै नभएको बताउँछ । र, किर्ते कागजात तयार गरेर नयाँ व्यवसायीले निवार्ध पसल सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थाले पुराना वैध व्यवसायी भने त्रिपक्षीय चेपुवामा परेका छन् । (भेट टाईम्स)

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६