शुक्रबार, बैशाख ७, २०८१

सरकारी जग्गामा निजी फार्म, अर्गानिक एजुकेशनले पर्ति जग्गा मिचेको स्थानीयको आरोप

ललिपुर, वैशाख । अर्गानिक शिक्षा प्रदान गर्ने नाममा साविक छम्पी गाविस वडा नं. ७ हालको गोदावरी नगरपालिका वडा नं. ९ मा खुलेको अर्गानिक एजुकेशन फार्म हाउसले केही सरकारी जग्गा समेत  हडपेर व्यापार गरिरहेको खुलेको छ ।
केही समय अगाडिदेखि अर्गानिक एजुकेशन दिने उदेश्यले स्थापना गरिएको सो फार्मले फार्म सञ्चालनका लागि लिएको जग्गा छेवैमा रहेको छम्पी ५ ख ‘१’ कित्ता नं ३४० स्थित करीव २ रोपनी  सरकारी जग्गासमे हडपेर टहरा बनाएको आरोप लागेको छ । । सरकारी जग्गा हडपेर व्यवसाय सञ्चालन गरेपछि केही स्थानीय जनताले त्यसको विरोध गर्दै आईरहेका छन् ।  पुराना स्थानीय बासिन्दाहरुले फार्मले मिचेको जग्गालाई संरक्षण गर्न दवाव दिंदै वडा कार्यलयमा उजुरी समेत हालेका छन् ।
अर्गानिक शिक्षा दिने उदेश्यले स्थापना गर्ने भनिएको सो फार्मले पर्ती जग्गा मिचेको विषयमा आफूलाई स्थानीय बासिन्दाले जानकारी दिएको भन्दै गोदावरी नगरपालिका वडा न. ९ का अध्यक्ष आत्माराम थापाले जग्गा संरक्षणमा आफू प्रतिवद्ध भएर लाग्ने र बनेका टहरा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकारलाई प्रयोग गरी भत्काउने बताएका छन् ।
अध्यक्ष थापाका अनुसार अर्गानिक एजुकेशन फार्म वडा कार्यालय दर्ता गराउनु पर्ने नियम भएपनि हालसम्म दर्ता नगरेको र सो फार्मका विषयमा विवरण उपलब्ध गराउन वडा कार्यालय पटक पटक पत्राचार गर्दा पनि अटेरी गरि जवाफ नपठाएको बताए ।
स्थानीय तहमा कुनै पनि व्यवसाय वा सामाजिक संस्था स्थापना गर्नु अगाडि नै सम्वन्धित वडा कार्यालयमा दर्ता गर्नु पर्ने प्रावधान भएपनि सो फार्मले नियम विपरित फार्म सञ्चालन गरेको गरेको उनको आरोप पनि छ ।  यस विषयमा फार्मका सञ्चालक सोम पनेरुसँग कुरा गर्दा आफूले सन् २०१० मा कम्पनीमा फार्म दर्ता गराएको बताए पनि वडामा दर्ता नगराएको स्वीकार गरे । फार्मले सरकारी जग्गा हडपेको र स्थानीय वासिन्दाले विरोधका विषयमा उनले जग्गा आफूले भाडामा लिएको र त्यसबारे आफ्ना सहकर्मी दिपक थापालाई जानकारी भएको र आफूले जग्गा भाडामा लिएर सञ्चालन गरेको कुन सरकारी कुन व्यक्तिको हो थाहा नभएको बताए ।
सार्वजनिक जग्गा कब्जा गरी फाम सञ्चालन गरेको विषयमा सो फार्मका अर्का सञ्चालक भनिएका दीपक थापासँग जानकारी लिंदा उनले विगतमा पर्ती जग्गा भएको भएपनि सो पर्ती जग्गा केही समय अगाडि उनको आमाको नाममा नामसारी गरिसकेको बताए । तर स्थानीय बासिन्दाहरुले पर्ती जग्गा व्यक्तिको नाममा कसरी नामसारी भयो त्यसको खोज अनुसन्धान गर्न वडा कार्यालयलाई दवाव दिईरहेको वडा अध्यक्षको भनाई छ ।
के हो इडु फार्म ?
अर्गानिक शिक्षा दिने र शहरी क्षेत्रका जन्मे हुर्केका बालबालिकालाई कृषि शिक्षा दिने उदेश्यले सो फार्म सञ्चालन गरेको सञ्चालक सोम पनेरु बताउँछन् । सो फार्ममा विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक भ्रमणमा लैजाने गरेको पनि देखिन्छ । शैक्षिक भ्रमणमा जानेहरुका मध्ये फार्ममा प्रवेश शुल्क बालबालिकाका लागि १ सय रुपैयाँ र अभिभावकका लागि ३ सय रुपैयाँ लिने गरिएको फार्म सञ्चालकहरुले जानकारी दिएका छन् ।
फार्ममा मुख्य सञ्चालक सोम पनेरुले कहिले काँही  मात्र जाने बताउँछन् । त्यहाँको रेखदेख सवै दीपक थापाले नै गर्दै आईरहेको पनेरुले बताए । विदेशमा अध्ययन गरेर फर्केका पनेरुले नयाँ सोचमा कार्य गर्ने प्रयास गरेको र सोही सिलसिलामा थापासँग भेट भएको बताइएको छ । तत पश्चात थापा कै जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको र थापा पनि त्यसमा नै सञ्चालकका रुपमा संलग्न रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख २६, २०७६