शनिबार, बैशाख ८, २०८१

काम नगर्ने राष्ट्रिय किसान आयोगको के काम ?

काठमाडौं, वैशाख। सरकारले विषयगत विज्ञ भएका व्यक्तिहरुलाई संलग्न गरी सम्वन्धित विषयगत क्षेत्रमा भएका समस्या समाधान गर्ने त्यस्ता विषयको विकास गर्नका लागि गर्नु पर्ने कार्य, योजना लगायतलाई सकेसम्म चाँडो सम्वोधन होस् भन्ने हेतुले स्थापना गरिएका असंख्य आयोगहरु मध्ये एक आयोग हो राष्ट्रिय किसान आयोग ।
राष्ट्रिय किसान आयोगको उदेश्य अनुरुप नेपाली किसानहरुले भोग्दै आएका समस्यालाई समाधान गर्नका लागि राज्यलाई निर्देशन दिने र किसानमा समस्या तत्काल सम्वोधन हुनु पर्ने थियो । तर विडम्वना किसान आयोगको हैसियत त्यस्तो देखिएन । यसले सरकारलाई निर्देशन दिने हो बरु आयोग आफै कृषि तथा पशुपन्छी विकास मन्त्रीको निर्देशनमा चल्ने भयो ।
त्यसो भए के किसान आयोग कृषि मन्त्रीको गोटी भएर चल्ने हो ? नभए किन यसले कृषि मन्त्रालयलाई निर्देशन दिन सक्दैन ? किन की किसान आयोगलाई त्यसैले त संवैधानिक आयोग बनाइएन । ताकी यो आयोग केवल भत्ता खाने र कार्यकर्ता पाल्ने थलोका रुपमा मात्र विकसित होस् ।
हुन पनि त्यस्तै भएको छ । किसान आयोग स्थापना ताकाक सरकारको नेतृत्व गरिरहेको तात्कालिन नेकपा माओवादी र नेपाली कांग्रेस निकट किसान संगठनका नेताहरु नै आयोगको अध्यक्ष र सदस्य बन्ने मौका पाएका थिए । त्यस बेला प्रतिपक्षी दलका रुपमा रहेको तात्कालिन नेकपा एमालेले किसान आयोगको गठन प्रक्रिया र नियुक्ति गलत भएको भन्दै आयोगको कुनै पनि पदाधिकारीका लागि नाम सिफारिस गरेन बरु त्यसको विरोध नै गरेको थियो ।
त्यो विरोध हिजो आयोगको अध्यक्ष आफूलाई नदिएको भन्नेमा थियो तर आज आयोगले काम गर्न नसकेको र किसान आयोग खारेज गरे हुन्छ भन्ने अभिव्यक्ति आईरहँदा पनि उनीहरु खुशी नै छन् । लाग्छ एमाले र माओवादी मिलेर बनेको नेकपा भित्रका किसान नेताहरु नै आयोग खारेज हुनुको विकल्प नभएको बताईरहेका छन् । भन्नेले भन्लान् धेरै ठूलो संघर्ष गरेर किसानका हितका लागि स्थापना गरिएको किसान आयोग किन खारेज गर्ने ? तर किसान आयोगको करीव साँढे दुई वर्षको अन्तरालमा किसानका लागि पक्षपोषण गर्ने के काम भएत ? काम नै नगर्ने हो भने किसान आयोगको औचित्य के छ । कृषि विभागले गरे जस्तै गोष्ठि र अनुगमन गर्नका लागि किसान आयोग किन चाहियो र ?

प्रकाशित मिति: बिहिबार, बैशाख २६, २०७६