शनिबार, बैशाख ८, २०८१

वर्डफ्लु लुकाउन कुखुरा व्यवसायी सक्रिय, गोप्य रुपमा कुखुरा गाड्दै

काठमाडौं, वैशाख । पछिल्लो समयमा वर्डफ्लुका कारण मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएपछि कुखुरा तथा अण्डा उत्पादनका लागिको व्यवसायीहरु आतंकित बनेका छन ।
साना किसानहरु बढी त्रासमा देखिएका छन् भने ठूला व्यवसायीहरु पशु चिकित्सकहरुसँग सेटिङ्ग मिलाउने अभियानमा जुटेका छन् । सकेसम्म आफ्नो फार्ममा कुखुरा मरिहालेपनि त्यसलाई गोप्य राख्ने र केही पशु चिकित्सकहरुकै मिलेमतोमा नष्ट गर्ने काम गरिरहेका छन । यसरी पशु चिकित्सकहरुसँगको सेटिङ्गमा वर्डफ्लु लुकाउने अधिकांश ठूला व्यापारी चितवनमा केन्द्रित रहेका छन् । भने अन्य जिल्लामा पनि पोल्ट्री व्यवसायी महासंघ मार्फत गोप्य सर्कुलर भएको बुझिएको छ ।
विगतमा चितवनका केही ठूला पोल्ट्री फार्ममा कुखुरा मरेको भएपनि त्यसलाई लुकाइएको थियो । यसका कारण वर्डफ्लु झन् विकराल हुने सम्भावना बढ्दै गईरहेको छ । सरकार वर्डफ्लु नियन्त्रण गर्ने अभियानमा जुटेको भएपनि व्यवसायी वर्डफ्लुका कारण क्षतिपूर्तिमा समस्या हुने भएको र व्यवसाय नै धरापमा पर्ने भन्दै त्यसलाई लुकाउने कुचेष्टा गरिरहेका छन् ।
त्यसकै परिमाण काभ्रेको मरेका कुखुराहरु काभ्रेको बनेमाको खोलामा फालिएको भेटिएको छ । मरेका कुखुरा कसले फालेको भन्ने अनुसन्धान नै नगरी त्यसलाई खाल्डो खनेर गाडिएको छ ।
काभ्रेको बनेपा स्थित पुष्यमाता खोलामा गोप्य रुपमा फालिएका कुखुरा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेपछि बनेपा नगरपालिकाको पशुपन्छी विकास शाखाले कुखुरा नष्ट गरेको हो । पशु शाखाका प्रमुख पवनकुमार रेग्मीका अनुसार मरेका कुखुराको नमूना संकलन गरिएको र त्यसलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत प्रयोगशालामा पठाउने छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २३, २०७६