बुधबार, बैशाख १२, २०८१

बाध्यतामा विदेशी वीउ व्यवसायीहरुले आयात गरेका छन्

पछिल्लो समयमा नेपाली किसानहरु गुणस्तरीय बीउ प्रयोग गर्न पाएका छैनन् । बीउ व्यापारीहरुले गुणस्तरहीन र दर्ता स्वीकृत नभएका बीउहरु आयात गरी किसान ठग्ने काम गरिरहेको आरोप लागिरहेको छ । राष्ट्रिय बीउ गुण नियन्त्रण केन्द्रले खासै प्रभावकारी काम गर्न पनि सकेको देखिँदैन । व्यवसायीहरु विदेशी बीउहरु आयात गरी बढी भन्दा बढी नाफा कसरी लिन सकिन्छ भन्ने सोचमा छन् । यही विषयमा लामो सयमदेखि बीउ तथा कृषि औजारको व्यवसाय गर्दै आईरहेको नाफ सिडका प्रवन्ध निर्देशक गौतम महर्जनसँग गरिएको कुराकानीको अंश ः
० अहिले नेपालमा भित्रिएका वीउको गुणस्तरमाथि निकै नै शंका उब्जन थालेको छ नि ?
हामीले भित्र्याउने वीउ गुणस्तरीय नै भित्र्याउँछौं । तर खुल्ला सिमानाका कारण दर्ता नभएका बीउहरु पनि थुप्रै आउन थालेका छन् । जसले गर्दा किसानहरु मर्कामा परेका छन् । बीउ भित्र्याउन नियन्त्रण गर्नका लागि कार्यालय बन्यो तर काम भएन भन्दा पनि हुन्छ । नेपालमा बीउ विक्री गर्नु अगाडि परिक्षण स्वीकृत गर्न नै ३ देखि ५ लाख रुपैयाँ खर्च हुन्छ । व्यापारीले त्यही वीउ विक्री गरेर कमाउने भएकाले परिक्षण खर्च समेत किसानबाट असुल्ने भएका कारण पनि किसान मारमा पर्ने गरेका छन् ।
० त्यसो भए समस्या के हो त नेपाली बजारमा भेटिएका वीउहरुमा ?
नेपालमा सवैभन्दा कमजोर भनेको वीउको छनौट नै हो । हामीले हाइव्रिडलाई प्राथमिकता दिईरहेका छौ । यसले कालान्तरमा समस्या निम्त्याउँछन । बरु विदेशबाट प्रविधि भित्र्याएर स्थानीय जातलाई नै प्राथमिकता दिनु पर्दछ भन्ने मेरो मान्यता हो ।
० तर बजारमा हेर्ने हो भने दर्ता नभएका बीउहरु पनि प्रशस्त आईरहेको छन नि त ?
हो । दर्ता नभएका बीउहरु पनि बजारमा प्रशस्त छन् । किसानलाई के थाहा कुन वीउ दर्ता छ कुन बीउ दर्ता छैन । व्यापारीले जुन वीउ दिन्छ त्यही बीउ किसानले लगाउने हो । बीउ दर्तादेखि किसानसम्म पुग्नेबेलासम्मका चरणमा कडाईका साथ अनुगमन गर्नु पर्दछ त्यसो हुन सकेन ।
० सरकारी संयन्त्र कमजोर भएका कारण गुणस्तरहीन र दर्ता नभएका बीउ भित्रिएका छन् हो ?
व्यवसायिक रुपम नै लागेका व्यक्तिहरुले दर्ता नभएका बीउ आयात गर्दछ भन्ने कुरामा म सहमत छैन । तर ठेक्का पट्टा गर्ने सोचले आएका व्यवसायीहरुले भने त्यस्ता बीउहरु आयात गरेका पनि देखिन्छन् । तर हाम्रो देशको भौगोलिक अवस्था र हावापानी समेतलाई ख्याल गर्दै कुन कुन बालीका बीउ आवश्यक छ त्यही अनुसार आयात गर्न दिनु पर्दछ जस्तै हामीलाई पहिलो धान, त्यसपछि गहुँ, मकै आलु जस्ता बालीहरुको बीउ कुन कुन हाईव्रिड आयात गर्ने र कुन कुन बीउ स्थानीय उत्पादन गर्ने भन्ने कुरा नीतिगत रुपमा नै हुनु पर्दछ ।
० किन भएन त अहिलेसम्म ?
त्यही त मैले भनिरहेको छु सरकारले किन त्यसो गर्न सकेन । सरकारले मापदण्ड तोकेको छ विदेशी बीउ आयात गर्नका लागि दर्ता गर्न तर जथाभावी बीउहरु बजारमा देखिन्छ । सरकारले बाहिरबाट ल्याउनु भन्दा पनि सरकारकै फार्ममा पनि गर्न सकिन्छ । धेरै स्टेशनहरु छन् मन्त्रालय मातहतमा तर प्रयास भएको देखिँदैन ।
० वीउ आयात गरिएपनि किसानहरुलाई अत्यधिक चर्को मूल्यमा विक्री गरेको सुनिन्छ नि ?
व्यापारीले थोरै केही फाइदा त लिन्छ नै । त्यसमाथि विदेशी हाईव्रिड बीउ थोरै महंगो पनि छ तर हामी आफैले स्वदेशमा नै हाईव्रिड पनि उत्पादन गर्न सक्थ्यौं तर सरकारल त्यसतर्फ किन चासो दिएका छैन भन्ने मेरो भनाई हो । नेपाल कृषि अनुसन्धान परिषद्ले पनि नयाँ नयाँ बीउहरु उन्मोचन गर्नुपर्ने थियो तर भएको देखिँदैन । उदाहरणका लागि भक्तपुरको स्थानीइ काँक्रो होस् या ज्यापु काउली जस्ता कृषि उपज पायौं भने हामीले अरु छुँदै छुँदैनौ । हामीले अहिले स्वाद अनुसारका बीउका प्रकार खोजिरहेको छौं । हामीलाई हिमाल, पहाड र तराईका लागि आवश्यकता अनुसार बीउ उत्पादन नै गर्न सकेका छैनौं । आयात गरिनु मात्र विकल्प होइन नि ।
० अहिले नेपालमा स्थानीय वा स्वेदशी वीउ उत्पादन गर्नु भन्दा विदेशी हाईव्रिड वीउ ल्याउने विक्र गर्ने बढी मुनाफा लिने नै बढी देखिए भन्ने कुरा साँचो हो नि त ?
त्यसो गर्नु व्यवसायीहरुको वाध्यता हो । नेपालमा उत्पादन भएको सिर्जना जातको गोलभेंडाको बीउ एउटा जातको बनायौं तर त्यसपछिका लागि अरु विकल्प किन दिन सकेनौं । एउटै मात्र बीउमा भर पर्नु पर्ने हो र । अरु जातको बीउहरु पनि अनुसन्धान गर्नु प¥यो नी अनि पो विदेशी वीउ आयात गर्नु पर्दैन । काँक्रो, खुर्सानी, मकै वा अन्य तरकारी बालीको वा खाद्य बालीको बीउ उत्पादन गर्नु पर्दछ । अनि अर्को कुरा बीउ आयात गर्नका लागि जथाभावी कम्पनीलाई स्वीकृत दिएको छ । सक्षम कम्पनीलाई मात्र दिए पो उसले गुणस्तरीय बीउ आयात गर्न सक्छ त । त्यसले सस्तोमा वीउ विक्री वितरण गर्न सक्छ ।
०बाहिरबाट आउने बीउहरु गुणस्तरहीन छन् परीक्षण काजगमा मात्र हुन्छ रे नि ?
विगतदेखि नै प्रचलनमा आएका बीउको गुणस्तर त परीक्षण गर्न नपर्ला तर आयात हुने बीउहरु पनि हाम्रो देशका लागि आवश्यक बीउलाई मात्र प्राथमिकता दिनु प¥यो भन्ने मेरो भनाई हो । मुलुकका लागि आवश्यक बीउ कुन हो कुन आयात गर्न दिने भन्ने भएपछि त्यसको गुणस्तरका विषयमा कुरा आउँछ । त्यत्ति भनिरहँदा १० वर्ष अगाडिको अवस्था हेर्ने हो भने र अहिलेको अवस्था हेर्ने हो भने धरै नै परिवर्तन भएको छ । बाह्रै महिना हामीले भने जस्तो तरकारी तथा कृषि उपजहरु सहज रुपमा नै पाईरहेका छौं । सकारात्मक कुरालाई मात्र हेर्ने हो भने ठिकै छ ।

प्रकाशित मिति: सोमवार, बैशाख १६, २०७६