बिहिबार, चैत्र १५, २०८०

कृषि मन्त्रालयको सरुवामा विभेद, मन्त्री भन्छन् ‘सिनियर जुनियरको कुरै हुन्न’


काठमाडौं, चैत्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कर्मचारीहरुको समायोजन प्रक्रियामा निकै नै विभेद भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन निकै नै त्रुटि देखिएको थियो । मन्त्रालयले यतिसम्म हेलचक्र्याई गरेको देखिन्छ कि मृत्यु भएका व्यक्तिलाई समेत स्थानीय तह र प्रदेश स्तरमा समायोजन गरिदिएको छ । त्यस्तै जागिर छाडेर गईसकेका व्यक्तिलाई पनि समायोजन गरिदिएको छ ।
हुन त कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्राविधिक मन्त्रालय भएकै कारण विभेदको शिकार वन्दै नआएको होइन । चाहे त्यो बृत्ति विकासका लागि गरिँदै आएको पदोन्नतीका विषयमा होस् या कार्यालय सञ्चालनकै अवस्थामा किन नहोस् । प्राविधिक कर्मचारीलाई प्रशासनिक तहका कर्मचारीले हेर्ने दृष्टिकोण सँधै नै नकारात्मक देखिने गरेको छ । यसको पुष्टि सचिव पदमा पदोन्नतीका विषयमा गरिएको क्लष्टर नै पुष्टि गरिदिएको छ ।
अहिले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका विषयमा पनि त्यस्तै अवस्था आएको छ । अन्य विषयगत कर्मचारीहरु भन्दा कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारीहरुलाई निकै अस्तव्यस्त बनाएको छ । अस्तव्यस्त समायोजन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय त्यसलाई सच्याउने काम समेत गरेको पाइँदैन ।
आफू मातहतको कर्मचारी समायोजन विभेदकारी ढंगले भएको विषयमा तालुकदार मन्त्रालय अर्थात कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल भन्छन्,‘यो सवै नियम अनुरुप नै भएको छ, कसैलाई अन्याय गरिएको छैन’ । मन्त्री खनालले कृषिका कर्मचारीलाई अन्याय भएको किन देखेनन् ? जेष्ठताका आधारमा समायोजन वा सरुवा नभएको कुरालाई किन बहस बनाउन सकेनन् ? कृषि उत्पादकत्व दोव्वर बृद्धि गर्ने सोचले अगाडि बढेको सरकारले कृषि प्राविधिकहरुको जसरी समायोजन वा सरुवा गरेको छ त्यसलाई हेर्ने हो भने कर्मचारीको मनोवल पक्कै पनि काम गर्ने अवस्थामा देखिएको छैन । यो अवस्थामा कृषि क्षेत्रको विकास र उत्पादकत्व बृद्धि हुने विषयमा समस्या आउने कुरामा सोचिएको छैन ।
मन्त्री खनाल भन्छन्, ‘जागिर खाएपछि राज्यले खटाएको ठाउँमा जानु पर्दछ सिनियर जुनियरको कुरा आउँदैन नियम अनुसार नै गरेका छौं’ । प्रदेशमा खटाइएका सहसचिवहरु मध्ये जुनियरलाई प्रदेश सचिव र सिनियरलाई प्रदेश निर्देशनालयको निर्देशकका रुपमा सरुवा गरिएको विषयमा भने बोल्न चाहेनन् ।
कानूनको व्याख्या गदैै संविधानका धारा पल्टाउँदै नियम बनाएको स्वाङ्ग गर्ने तर त्यही नियमलाई धोती लगाईदिएका छन् । विशेष गरी प्रदेश मन्त्रालयका सचिव पद तथा निर्देशनालयका प्रमुखहरुको समायोजन वा सरुवा गरिएको निर्णय हेर्ने हो भने अरु केही भन्नै नपर्ला । वरियता क्रम अनुसार जेष्ठताका आधारमा सरुवा गर्ने भनिएपनि त्यसो गरिएका देखिँदैन ।
प्रदेश सचिवमा को को भए सरुवा
प्रदेश नं. १ – हस्तबहादुर विष्ट
प्रदेश नं. २ – विजयचन्द्र झा
प्रदेश नं. ३ – डा योगेन्द्रकुमार कार्की
प्रदेश नं. ४ – दुर्गाप्रसाद दवाडी
प्रदेश नं. ५ – वैकुण्ठ अधिकारी
प्रदेश नं. ६ – राजेन्द्र भारी
प्रदेश नं. ७ – महेशराज विष्ट

प्रकाशित मिति: बुधबार, चैत्र १३, २०७५