शुक्रबार, चैत्र १६, २०८०

कृषिमा काम भएन भन्दै मन्त्री चक्रपाणीलाई हटाउने संकेत

काठमाडौ, चैत्र । कृषि क्षेत्रको विकासका जति नारा घन्काएपनि काम भने हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्री भए लगतै ५८ बुँदे हावादारी गफ हाँकेर बसेका कृषि मन्त्री चक्रपाणीले १ बुँदे पनि काम गर्न सकेनन् । कृषिका नयाँ कुरालाई कार्यान्वयन ल्याउनुको सट्टा उद्घाटन र जिल्ला भ्रमणमा नै व्यस्त भए ।
कहिले कालीमाटी तरकारी बजारमा हल्ला पिटाउने त कहिले डेरीमा आतंक मच्चाउने काममा सक्रिय देखिए पनि कार्यान्वयन भने गर्न सकेनन् । चर्चाका लागि हल्ला गर्नु भन्दा डेरी उद्योगलाई लगाम लगाउने र कालीमाटी तरकारी बजारको सिण्डिकेटमात्र तोड्न सकेको भएपनि केही राम्रा संकेत देखिन्थ्यो ।
तर मन्त्रीले कार्यान्वयन पक्षलाई थाती राखेर हल्ला गर्ने काम मात्र गरे । अमूल भित्र्याउने खेल होस वा आयोजना भित्रको भ्रष्टाचारका विषयमा पनि मन्त्री चुके । कृषि विकास मन्त्रायल भित्र हुने भ्रष्टाचारको जालो तोड्नु पर्नेमा उनीहरुसँगै सल्बलाउन थाले । परिणाम कृषि विकास मन्त्रालयले सरकार गठन भएको एक बर्षमा सिन्को पनि भाँच्न सकेन भन्दा उचित होला ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका कृषि उत्पादन दोव्वर बनाउने अभिव्यक्ति दिईरहँदा उत्पादन गर्नु पर्ने मुख्य मन्त्रालयले चासै दिन सकेन । यतिसम्म की प्रधानमन्त्रीकै नाममा स्थापित भएको परियोजनाले समेत गति लिन सकेनन । बरु मन्त्रीले परियोजनाको उदेश्य नबुझी अरुको उक्साहटमा लागेर जोन र सुपरजोनको संख्या बढाउन थाले । त्यही क्रममा आफ्नो गृह जिल्लामा कपिलवस्तुलाई पनि सुपर जोन बनाउन भ्याए ।
सरकार जुन गतिमा अगाडि बढिरहेको छ सोही गतिमा कृषि मन्त्रीले काम गर्न सकेनन् । प्रधानमन्त्री कार्यालयकै मूल्यांकनमा पनि कृषि मन्त्रालयले काम गर्न नसकेको देखिन्छ । दुई तिहाईको पूर्णकालिन सरकारका मन्त्रीहरुले आफ्नो क्षमता देखाउन नसकेपछि मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु फेरवदल गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । विगतदेखि नै मन्त्रीहरु फेरवदल गर्ने भनिएपनि समयले साथ दिएको थिएन भने दुई अध्यक्षवीच पनि के गर्ने भन्ने विषयमा बहश हुन सकेको थिएन । अहिले भने केही मन्त्रीहरु हटाउने भन्ने विषयमा दुवै अध्यक्ष राजी भएका कारण मन्त्रालयका आफ्नो क्षमता प्रर्दशन गर्न नसकेका मन्त्रीहरु मध्ये कृषि मन्त्री चक्रपाणी खनाललाई पनि हटाउने संकेत देखिएको छ ।
विशेष गरी मन्त्री खनाललाई हटाउनु पर्ने मुख्य कारण उनको कार्यक्षमतामा नै प्रश्न उठेकोले हो । खनालले यतिसम्म गरेका छन् कि कृषिका कतिपय महत्वपूर्ण कार्यक्रमहरुलाई वेवास्ता गर्ने, मन्त्रीपरिषद्को वैठक बस्ने दिन जिल्ला भ्रमणमा निस्कने जस्ता कामले पनि उनलाई हटाउनु पर्ने कारण देखाइएको छ । पछिल्लो जानकारी अनुसार कृषि मन्त्री चक्रपाणाीलाई नहटाइए सरकारले गरेको संकल्प अनुरुप पाँच वर्षमा कृषि उत्पादन दोव्वर हुन नसक्ने भएकाले पनि केही गतिलो व्यक्ति र कृषि हाँक्न सक्ने व्यक्तिलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन तयारी भईरहेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५