शनिबार, बैशाख ८, २०८१

मकवानपुर, पोखरा र काठमाडौंमा वर्डफ्लु भेटियो

काठमाडौं । केही महिना यतादेखि देशका विभिन्न स्थानका व्यवसायिक कुुखुरा फार्ममा वर्डफ्लु भेटिन थालेको छ । कुुखुरामा वर्डफ्लुदेखिएपछि त्यसलाई गुपचुप व्यवसायीहरुसँगको मिलेमतोमा गुपचुप राखि फार्मको कुखुरा नष्ट गरिएको खुल्न आएको छ । केही साता अगाडि मकवानपुरको एक कुखुरा फार्ममा पालिएका कुखराहरु भटाभट भर्न थालेपछि व्यवसायी किसानले कुखुराको रोग परीक्षण गराएका थिए । मरेको कुखुराको परिक्षण गर्दा वर्डफ्लु भेटिएपनि त्यसलाई गुपचुप मै राखियो ।
मकवानपुरमा मात्र होइन पोखरा र काठमाडौका कुखुरा फार्ममा समेत वर्डफ्लु देखापरेको पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले स्वीकार गरेका छन् । उनका अनुसार केही ठाउँमा कुखुरा मरेको जानकारी पाएको भएपनि मरेका कुखुरा नष्ट गरिसकेको बताए ।
तर कतिपय व्यवसायीहरुले कुखुरा मर्न थालिसकेपछि रोग परिक्षण गराउने भन्दा पनि कुखुरालाई मासुको रुपमा प्रयोग गर्नका लागि विक्री गरेको समेत पाइएको छ । वर्डफ्लु रोग संक्रमण भएका कुखुराको मासु बजारमा प्रशस्त हुन सक्ने पशु चिकित्सकहरुको भनाई रहेको छ ।
ठाउँ ठाउँका कुखुरा फार्महरुमा कुखुरा मर्न थालेको र वर्डफ्लुको शंका भएको भएपनि नष्ट नगरिएको कारणका बारेमा पशु सेवा विभागका महानिर्देशक विमलकुमारनिर्मल भन्छन्, ‘हामीले वर्डफ्लु संक्रमण भएको स्पष्ट पुष्टि गरेपछि त्यस्ता फार्ममा रहेका कुखुरा नष्ट गर्नका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत आग्रह गर्दै नष्ट गरिसकेका छौं’ । विगतमा ब्रोइलर कुखुरामा वर्डफ्लु देखिने गरको भएपनि अहिले लेयर्स कुुखुरामा वडफ्लु देखिएको निर्मलेले कृषिअनलाईनलाई बताए ।
विगतमा वर्डफ्लुको शंका हुनासाथ कुखुरा फार्म नियन्त्रणमा लिने र केही समय पशु चिकित्सक एवं सरोकारवाला निकायहरुको प्रयत्क्ष निगरानी गर्ने गरिएको भएपनि पछिल्ला दिनमा यस्ता कार्य नहुदा उपभोक्ताहरुले वर्डफ्लु संक्रमित कुखुरा उपभोग गर्नु पर्ने हो कि भन्ने आशंका जन्मिएको छ । उपभोक्ताहरुलाइृ त्रासमा मासु उपभोग गर्नु पर्ने अवस्था सिर्जना गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चासो दिनु पर्ने भएको भएपनि खासै चासो लिएको पाइएको छैन ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५