मङ्लबार, बैशाख ११, २०८१

विषादी प्रयोग नगर्न आग्रह गर्दै कलाकारहरु मञ्चमा

काभ्रे, फागुन । ‘विषादीको ओइरो, रोगीहरुको धुइरो क्यान्सरले हामीलाई सताउने’ यो कुनै चलचित्रमा गाईको गीत होइन । विषादी प्रयोग न्यूनिकरण गरौ भन्दै किसानहरुलाई जनचेतना अभिबृद्धि गर्नका लागि नाटक प्रदर्शनमा जुटेका रङ्गकर्मीहरुले किसान तथा उपभोक्ताहरु माझ गाएको गति हो । पछिल्लो समयमा तरकारीबालीमा बढ्दै गईरहेको विषादी प्रयोग न्यूनिकरण गर्नका लागि रङ्गकर्मीहरुको टोली काभ्रेका किसान र उपभोक्ताहरु माझ नै गएर नाटक देखाउन थालेका छन् ।
प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले विषादी मुक्त सप्ताह मनाईरहँदा कुसुम नाट्य समूह तथा हब ब्रोडकास्टिङ्गका कलाकाहरु भने नाटक ‘विषादीले ज्यान खायो’किसानको आँगनमा नै गएर नाटक प्रस्तुत गरिरहेका थिए ।
अत्यधिक विषादी प्रयोगका विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरु तथा कृषि उपज उपभोग गर्ने उपभोक्ताहरु सवैलाई नराम्रो प्रभाव पारिरहेको छ । महिला र केटाकेटीहरुमा यसका प्रभाव वढि पर्ने हुन्छ । विषादीका कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्य सम्म ल्याउछ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, वाझोपन, विकृत वच्चाको जन्म, शरीरका विभिन्न अंगहरुमा असर, नशा सम्वन्धि समस्या जस्तै पक्षघात जस्ता समस्या ल्याउने भएकाले त्यसबाट बच्ने सन्देश नाटकले दिएको थियो ।
सञ्चारकर्मी एवं रङ्गकर्मी वैकुण्ठ भण्डारीद्धारा लिखित नाटक ‘विषादीले ज्यान खायो’ को निर्देशन सन्तोष खनालले गरेका थिए भने सन्तोष खनाल, पुष्प अवस्थी, प्रभात खरेल, राजन भुजेल, सगुन पोख्रेल र अमृता श्रेष्ठले अभिनय गरेका थिए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ६, २०७५