मङ्लबार, बैशाख ४, २०८१

कृषि उत्पादन बृद्धि गर्ने जिम्मेवारी महिलाहरुको काँधमा

काभ्रे, फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपालमा कृषि उत्पादकत्व बृद्धि गर्ने जिम्मेवारी महिलाहरुको काँधमा रहेको बताएका छन् । काभ्रेको बनेपामा प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रद्धारा आयोजित विषादी प्रयोग मुक्त सप्ताह २०७५ को उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले भने,‘हिजोका दिनमा विषादी प्रयोग गर्न भन्यौ,तर आज अनियन्त्रित रुपमा विषादी प्रयोग भईरहेका छन्, जसलाई न्यूनिकरण गर्न निकै कठिनाई भईरहेको छ । ’
रासायनिक मल र विषादीको प्रयोगले पछिल्लो समयमा नेपाली माटो समाप्त हुन लागेको दुखेसो गर्दै अध्यक्ष श्रेष्ठले नेपाली माटोलाई माया नगर्ने र माटो सुरक्षित नगर्ने हो भने नेपालको अर्थतन्त्रनै ध्वस्त हुने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिजालले विषादी प्रयोग न्यूनिकरण गर्नका लागि किसानहरुसम्म पुग्ने गरी जनचेतना अभिबृद्धि गर्नु पर्नेमा जोड दिएका थिए ।
विगतमा भन्दा अहिले विषादी प्रयोगको मात्रा घट्दै गएको बताउँदै प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द प्रमुख डा डिल्लीराम शर्माले विषादी प्रयोग न्यूनिकरण गर्दै प्रांगारिक खेती तर्फ किसानलाई आकर्षण गर्नका लागि काभ्रेमा विगत लामोसयमदेखि आईपिएम प्रविधिको विस्तार गरिएको बताए ।
कृषि ज्ञान केन्द्रको सहकार्यमा सम्पन्न गरिएको सो कार्यक्रममा बोल्दै ज्ञान केन्द्रका कृष्णभद्र अधिकारीले विषादी प्रयोग चुनौतीपूर्ण हुँदै गईरहेकाले खास बस्तु र बालीमा विषादी प्रयोग नगरी प्रांगारिक कृषि खेती तथा रासायनिक मल एवं विषादीको विकल्प खोज्नु पर्ने बताए ।
‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादी मुक्त कृषिको आवश्यकता’ मूल नाराका फागुन ६ देखि १२ गतेसम्म मुलुकभर सप्ताहव्यापी रुपमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ६, २०७५