शुक्रबार, चैत्र १६, २०८०

फेरि कालीमाटी बजारमा अनुगमनको अर्को नाटक

काठमाडौं, पुस । कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरीले विहीबार कालीमाटी फलफूल तथा तरकारी बजारकोअ अनुगमन गरिन् । करीव ७ महिना अघि यसैगरी लावालस्कर सहित कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पनि बजारको अनुगमन गरेका थिए ।
कालीमाटी बजारमा विचौलिया रोक्ने अभियान भन्दै मन्त्रीले डिङ हाँके तर अहिलेसम्म पनि विचौलियाको दवदवा जारी नै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता समेत रहेका तेजबहादुर सुवेदी बजारको अध्यक्ष पनि रहेका छन् । तर बजारमा माखो मार्ने काम पनि हुन सकेको छैन । तर पनि अनुगमनको नाटक पटक पटक गरिन्छ ।
कृषि मन्त्री र राज्यमन्त्रीले ६ महिनाको अन्तरमा गरेको यो अनुगमनले कृषि उपज उत्पादन गर्ने किसानहरुका लागि कहाँ र कति फाइदा पुग्यो ? कृषि विकास मन्त्रालयका पदाधिकारीहरु बताउँन सक्दैनन् ।
बजार समितिका अध्यक्ष समेत रहेका मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी भने बजार सञ्चालन कार्यविधी बनाए अगाडि लैजाने तयारी गरिरहेको बताउँछन् । तीन दिनभित्र बनाउन सकिने कार्यविधि बनाउन किन ढिला प्रश्नको उत्तर दिन सक्दैनन् । अहिल कालीमाटी बजार भित्रको अवैधानिक किमिसले बसेका करीव ६ दर्जन स्टलहरु पनि सञ्चालनमा छन् ।
बजार विकास समितिका अधिकारीहरु, व्यापारी समेतको आर्थिक मिलेमतोमा बजारलाई अस्तव्यस्त बनाउने काम भईरहेको छ । छ महिना अघि मन्त्रीले गरेको अनुगमन पछिका समयमा कुनै पनि परिवर्तन हुन सकेको छैन । फेरि राज्यमन्त्रीको यो अर्को अनुगमनको नाटक मञ्चनले विचौलियाहरुलाई त्रास उत्पन्न गराउने र केही नजराना गोजीमा हाल्ने बाहेक अरु केही हुँदै होइन भन्दा फरक नपर्ला ।
यद्यपी बजार मात्र अनुगमन गर्ने उत्पादन गर्ने किसानहरुको समस्या समाधान गर्न माखो पनि नमार्ने मन्त्री तथा राज्यमन्त्रीको कार्यशैली प्रति किसानहरु रुष्ट बनिसकेका छन् ।
खेतमा उत्पादन गरिरहेका किसानहरुको समस्या के छ ? लागत मुल्य पाउन सकेका छैन कि छैनन् भन्ने कुराको खोजी गर्ने भन्दा पनि विचौलियाकै वीचमा रमाउन खोज्नु हाँस्यास्पद नै हो । बजार अनुगमन गर्ने तर बजारसम्म आइपुग्ने कृषि उपजहरु उत्पादन स्थलको प्राविधिक समस्या, किसानको पीडा सम्वोधन कहिले गर्लान् र खै ?

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५