बिहिबार, बैशाख १३, २०८१

उत्पादन बृद्धि गर्नका लािग दाङमा चक्लाबन्दी गरेर मकैखेती

दाङ, मंसिर । चक्लावन्दी गरेर कृषि उत्पाकत्व बृद्धि गर्न सकिन्छ भन्दै विज्ञहरु काठमाडौंमा कुर्लिरहँदा दाङका किसानहरुले भने चक्लाबन्दी गरेर मकैखेती गरिएको छ । दाङको मकैको विशेष क्षेत्रअन्तर्गत देउखुरी क्षेत्रमा चक्लाबन्दी गरेर मकैखेती गरिएको छ । राजपुर गाउँपालिका–१ रसरी खोलाको दश बिगाहा क्षेत्रमा चक्लाबन्दी गरेर मकैखेती गरिएको हो ।
दाङमा पहिलो पटक टुक्रा–टुक्रा परेको जमीनलाई एकीकृत गरेर मकैखेती गरिएको छ । हिउँदे र वसन्ते मकैखेती गर्न जग्गा चक्लाबन्दी गर्न थालिएको हो । जग्गा टुक्राटुक्रा हुँदा थोरै जग्गा, साना गहरा हुने भएकाले ट्र्याक्टरले जोत्न समेत नसकिने त्यसको सहजताका लागि चक्लाबन्दी शुरु गरिएको स्थानीयहरुले बताउँछन् ।
मकैखेती यान्त्रीकरण गरेर उत्पादन लागत घटाउने उद्देश्यले चक्लाबन्दी कार्यक्रम गरिएको छ । २० हेक्टर जमीन चक्लाबन्दी गरेर मकैखेती गर्ने लक्ष्य राखिएको छ । रसरी खोलामा चक्लाबन्दी गरेर रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन थालिएको छ । राजपुर गाउँपालिका–२ मटेरीयामा रहेको सूर्योदय कृषक बहुद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर चक्लाबन्दी कार्यक्रम अघि सारिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दाङले जनाएको छ । सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृिषयन्त्र उपलब्ध गराइएको छ ।
साठी हर्ष पावरको ट्र्याक्टर, मल्टिक्रप सिड ड्रिल, मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको छ । दाङको देउखुरी क्षेत्रको १३ हेक्टर जमीनमा हिउँदे मकैखेती गरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५