शुक्रबार, बैशाख ७, २०८१

नियम विपरित सरकारी सवारी दुरुपयोग गर्दै कृषि मन्त्री तथा राज्य मन्त्रीको सचिवालय

काठमाडौं, मंसिर । राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने चर्चा चलिरहँदा मन्त्रिपरिषद् मातहतमा रहेका विभिन्न मन्त्री तथा राज्य मन्त्री सचिवालयले पनि अत्यधिक मात्रामा सरकारी सवारी साधनको दुरुपयोग गरिरहेका छन् ।
प्राय सवै मन्त्रालयमा रहेको मन्त्री सचिवालयले अधिकार क्षेत्र भन्दा बाहिर गएर सरकारी सवारी साधनको दुरुपयोग गरिरहेका छन् । मन्त्रीको शक्तिको आडमा सचिवालयमा बस्ने कर्मचारीहरुले नियम विपरित सवारी साधन दुरुपयोग गरिरहेका छन् ।
त्यही क्रममा हामीले कृषि तथा पशुपन्छी विकास मन्त्री तथा राज्यमन्त्रीको सचिवालयबाट भएका सवारी दुरुपयोग बुझने प्रयास गयौं । तर मन्त्रालयले त्यस्तो विवरण उपलब्ध गराउन निकै नै अप्ठेरो महशुस ग¥यो । सूचनाको हकलाई धोती लगाउँदै मन्त्रालयले सूचना लुकाउने प्रयास पनि गर्दौ रहेछ भन्ने कुराको पुष्टि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देखायो नै ।
राजनीतिक रुपमा आएका सचिवालयले मन्त्रालयको प्रशासन संयन्त्रलाई धम्क्याएकै भरमा सयौं लिटर इन्धन र अनावश्य सवारी साधन प्रयोग गरेको हामीले फेला पा¥यौ । कृषि मन्त्री तथा राज्यमन्त्रीको सचिवालय हेर्ने हो भने पुरै मन्त्रालयको सिङ्गो तल्ला नै अतिक्रमण गरेर बसेको देखिन्छ । नियमअनुसार पाउने सचिवालयका सहयोगी भन्दा धेरै व्यक्ति नियुक्ति गरी विभिन्न आयोजनाबाट तलव ख्वाउने काम मात्र होइन । सवारी साधन र इन्धन पनि सोही अनुरुप दुरुपयोग भईरहेका छन् ।
मन्त्री तथा राज्यमन्त्रीले राखेका स्वकीय तथा निजी सचिवलाई सवारी साधन तथा इन्धन सुविधा दिने नियम केही पनि छैन । तर सचिवालयको धम्भमा प्रयोग गरिरहेका छन् । स्वकीय सचिव तथा निजी सचिवहरुले एउटा मात्र होइन दुइ तीनवटा सम्म प्रयोग गरेका पनि पाईयो ।
कृषि मन्त्री चक्रपाणी खनालले ७ जना सचिवालय राखेका छन् भने राज्य मन्त्रीले १० जना सचिवालयमा कर्मचारी राखेको पाइएको छ । कृषि मन्त्री खनालको निजी सचिवका रुपमा गृह मन्त्रालयबाट आएका उपसचिव अर्जुन भण्डारीले नाममा बा. २ झ ९९९८ को सवारी प्रयोग गरिरहेका छन् ।
त्यस्तै मन्त्रीको निजी सचिवकै रुपमा बसेका कृषि विकास मन्त्रालयका शाखा अधिकृत हुन् सुरेन्द्र सुवेदी । उनले विगतमा पहिलेका कृषि मन्त्रीले प्रयोग गर्ने गरेको बा.२ झ.३८६८ नम्वरको गाडी प्रयोग गरिरहेका छन् । नियमले उनले पनि गाडी सुविधामा पाउने छैनन् । तर उनले दुपयोग गरिरहेका छन् त्यस्तै मन्त्रीका स्वकीय सचिव सरोज खनालले दुई वटा गाडी प्रयोग गरिएको भएपनि बा २ झ १३६० मात्र देखाइएको छ । भने दीपक चुँदालीको नाममा बा २ झ ३२४९ नम्वरको गाडी लिएको देखिए पनि चुँदालीले आफू मन्त्रीसँग हिड्ने भएकाले सवारी नलिएको बताएका छन् ।
त्यस्तै कृषि राज्य मन्त्री रामकुमारी चौधरीका स्वकीय सचिव ङामुक हाङ मेन्याङबो लिम्वुले दुईवटा गाडी लिएका छन् । कुन कानून र नियमले उनले दुई वटा गाडी लिएका छन् भन्ने चर्चा मन्त्रालयमा चल्न थालेको छ । उनले बा २ झ १५६२ र बा २ झ ७९०६ नम्वरको सवारी दुरुपयोग गरिरहेका छन् । अझ दुवै गाडी लिएको भएपनि ड्राइभर भने राखेको छैनन् जसले व्यक्तिगत कामका लागि उनले मन्त्रालयको सवारी प्रयोग गरिरहेका छन् । त्यस्तै गरी राज्यमन्त्री कै अर्का स्वकीय सचिव शैलेन्द्र धामीले पनि बा २ झ २५१४ नम्वरको सवारी प्रयोग गरिरहेका छन् । भने निजी सचिवका रुपमा रहेकी पद्मा पोखरेलले वि एए १४४३ नम्वरको सवारी चढिरहेकी छिन् । उनले चढेको सवारी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय भएको सो मन्त्रालयले जनाएको छ ।
अनावश्यक रुपमा नियम विपरित मन्त्रालय, मातहतका आयोजनाको सवारी निजी सचिवालयले सञ्चानल गरेको विषयमा मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कार्यालय प्रयोजनका लागि सवारी प्रयोग गर्न पाइने भएपनि निजी प्रयोगका लागि प्रयोग गर्न नपाईने बताए । तर माथि उल्लेखित कर्मचारीहरुले निजी प्रयोगमात्र गरेका छैनन् आवश्यकता भन्दा बढी सवारी साधन प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७५