मङ्लबार, बैशाख ११, २०८१

पशु आहार ः गुणस्तरहिन दाना बजारमा हेर्ने कसले ?

काठमाडौं,मंसिर । पशुपन्छीका लागि पछिल्लो समयमा आहारका लागि चरन विस्थापित हुँदै गईरहेको छ । चरनका लागि स्थान अभावले गर्दा किसानहरु समेत वैकल्पिक उपायहरु खोजी गर्न थालेका छन् । पशुका लागि अति उपयोगी हरियो घाँस उत्पादन भन्दा पनि किसानहरुलाई दाना प्रयोग तर्फ किसानहरु आकर्षित भईरहेका छन् भने यही मौका छोपेर पशुआहारका लागि दाना उद्योगहरु खुल्ने क्रमपनि बढ्दै गईरहेको देखिन्छ । भने व्यापारीहरुले गुणस्तरहीन दाना उत्पादन गरी विक्री गरिरहेका छन् । पशुका लागि आवश्यक दाना उत्पादन गर्ने दाना व्यवसायीहरुले गुणस्तरलाई ख्याल नै नगरी दाना उत्पादन र विक्री वितरण गर्दा पनि यसप्रति खासै चासो दिएको पाइएको छैन ।
पछिल्लो समयमा चरनको अभाव खेपिरहेका किसानहरुका लागि पशुको लागि दैनिक उपभोग्य सामग्रीका रुपमा दानालाई प्रयोग गर्न त थालेका छन् तर, त्यसको गुणस्तरताका बारेका जानकारी नभएका कारण पशुहरुमा विभिन्न खाले रोगहरु समेत देखा पर्न थालेको छ । केही समय अगाडि मात्र चितवनको एक गाई फार्ममा एउटा गाई मरेपछि गाई मर्नुको दानाको प्रयोग नै देखियो । तर सम्वन्धित सरोकारवाला निकायले ध्यान दिन नसक्दा किसानहरु दिनप्रतिदिन मारमा पर्नु परेको छ ।
सरकारले पशुपालनमा युवाहरुलाई आकर्षित गरी दुधमा आत्मनिर्भर हुने प्रयास गरिरहेका बेला पशुका लागि दैनिक आवश्यक दानाको गुणस्तर चेक जाँच नियमित गर्नु पर्दछ कि पर्दैन ? यसको दायित्व कस्को हो ? बजारमा बेच्न राखिएका दानाको गुणस्तरमाथि प्रश्न उठाउने ठाउँ प्रशस्त देखिन थालेको छ ।
गाईभैसी, भेडाबाख्रा, बंगुर माछा के का लागि दाना उत्पादन भएको छ र अहिले बजारमा कुन पशुपंछीका लागि प्रयोग भईरहेको छ भन्ने कुरा पनि नियमन गर्ने निकायले हेर्नु पर्ने थियो तर हेर्न सकेको देखिँदैन । त्यसैका कारण पनि दाना उद्योगहरु माथि किसानहरुले प्रश्न उठाउन थालेका छन् ।
दाना उद्योगहहरुले उत्पादन गरेका दाना गुणस्तरहीन छन् जसले पशुपंक्षीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ र रोगहरु निम्त्याईरहेको भन्ने किसानहरुको गुनासो समेत सुनिदिने निकाय छैन । यसप्रति जिम्मेवार हुनु पर्ने को हो ? किसानहरुले उजुरी गर्ने ठाउँकहाँ हो ? अन्योलता छ । अनि पशुपंक्षीहरुका लागि दाना उद्योग स्थापना गर्ने व्यवसायीहरुले पनि किसानका पक्षमा र गुणस्तरीय दाना उत्पादन गरी विक्री वितरण गर्नु पर्ने देखिन्छ । अन्यथा दाना उद्योग संख्यात्मक रुपमा त बृद्धि होला तर गुणात्मक रुपमा बृद्धि हुन नसक्दा विदेशी दाना उद्योगहरुले नै मस्ती नगर्लान् भन्न सकिँदैन ।

प्रकाशित मिति: सोमवार, मंसिर ३, २०७५