शुक्रबार, चैत्र १६, २०८०

फूल उत्पादन नहुँदा कृत्रिम फूलको व्यापार बढ्यो

रोल्पा, कार्तिक । तिहारको रौनक बढेसँगै पुष्प व्यवसाय पनि फस्टाउने गर्दछ । तर रोल्पामा भने कृत्रिम फूलको व्यापार मौलाउँन थालेको छ । हरेक वर्ष कृत्रिम फूलको व्यापार बढ्दै गईरहेको व्यापारीहरुले बताउन थालेका छन् ।
जिल्ला सदरमुकाम लिवाङमा यतिखेर प्राकृतिक फूल भन्दा पनि कृत्रिम फूल खरिद गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । पसलमा झुण्ड्याइएका विभिन्न थरिका कृत्रिम माला छनोट गर्ने उपभोक्ताहरुको संख्या पनि बढ्दै गएको छ । फूलका माला नपाउँदा तिहारका लागि प्लाष्टिकका माला खरिद गर्न उपभोक्ताहरु वाध्य भएका छन् । उपभोक्ताहरुले साधारण प्लाष्टिकको माला प्रति गोटा १०० देखि १ सय ५० सम्म तिर्ने गरेका छन् ।
तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र सप्तरङ्गी टीका किन्नेहरूको चहलपहल बढेसँगै स्थानीय व्यापारीलाई भ्याइनभ्याइ हुन थालेको छ । तिहारका लागि अन्य समान किन्नेको भन्दा प्लाष्टिकको माला किन्नेकोहरूको बढी चहलपहल देखिन्छ ।
एकातिर फूलको अभाव अर्कोतिर आफ्नै बारीमा फुलेका फूलबाट माला गाँस्न झण्झट मान्दै प्लाष्टिकका माला किन्नेहरुको संख्या क्रमश ः बढ्दै गएको छ ।
प्लाष्टिकबाट बनेका मालामा स्थानीयवासीको मोह अत्यधिक दिएकाले आफूले दैनिक रू ४० हजारभन्दा बढीको माला बिक्री गर्दै आएको लिवाङका व्यापारी चन्द्रज्योति सुवेदीले बताए । तिहारका लागि भनेर रु आठ लाखको माला खरिद गरेर ल्याइएको र ती सबै बिक्री हुन्छ भन्दै उनले बजारवासीभन्दा ग्रामीण भेगबाट आएकाहरूले बढी मात्रामा प्लाष्टिकको माला किन्ने गरेका र मालाको गुणस्तर हेरेर रु ५० देखि २५० सम्मका माला बिक्री भइरहको उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५